सशस्त्रमा ‘एक जवान, एक बेडिङ कार्यक्रम’ अवधारणा : अब सरुवा हुँदा गुन्टा बोकेर जानु नपर्ने
फाइल तस्बिर

सशस्त्र प्रहरी कर्मचारीले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ ।

यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने वाध्यता रहेको थियो । ‘अब त्यो वाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भने, ‘सशस्त्र प्रहरीका धेरै गतिविधिमा सुधार गर्दै लगिएको छ ।’  

उनका अनुसार एक जवान एक बेडिङको अवधारणाअनुसार ८५ प्रतिशत कर्मचारीका लागि शय्या तयार भइसकेको छ । बाँकीका लागि पनि तयारीको अवस्थामा राखिएको छ । 

सशस्त्र प्रहरीका विभिन्न ७० युनिटमा शिशु स्याहार केन्द्रसमेत स्थापना गरिएको र  त्यहाँ एक सशस्त्र कर्मचारीले रेखदेख गर्ने तथा अरू भने कार्यक्षेत्रमा खटिने गरी व्यवस्था गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

यस्तै, आधारभूत आवश्यकतालाई ध्यानमा राखेर विशेष सुधारका काम पनि  गरिएको उनले बताए । प्रवक्ता खड्काका अनुसार विभिन्न ६५ वटा मेसको स्तरोन्नति गरिएको छ । 

जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण पनि गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । इन्डक्सन चुल्होको प्रयोग बढाउँदै लगिएको र अन्य सुधारात्मक कामलाई तीव्र गति दिइएको जनाइएको छ ।  





  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १२:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया