कांग्रेस नेता बलायर पत्रकारसँग रिसाएपछि...

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले पत्रकारका नाममा ‘पीत पत्रकारिता’ गरे पत्रकारलाई नै समस्या पर्ने बताएका छन् । शुक्रबार कैलालीको अत्तरियामा आयोजित प्रथम क्षेत्र नम्बर ४ प्रदेश (ख) सम्मेलनमा बलायरले पत्रकारलाई चेतावनी दिँदै यस्तो बताएका हुन् । 

कैलाली गोदावरी नगरपालिकामा बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्रमा बनाइएका घर टहरा भत्काउने अभियान चलिरहेकै बेला सामुदायिक वनभित्र नेपाली कांग्रेसको भवन निर्माणका लागि शिलान्यास गरेको खबर सञ्चार माध्यममा आएसँगै उनी पत्रकारसँग रिसाएका हुन् ।

‘आज मेरो पार्टीका कार्यकर्तालाई बोल्न बाध्य गराउनु भयो भने मेरो पार्टीको कार्यकर्ताले कुन भाषा र शैलीमा तपाइहरूसँग संवाद गर्ने छन् याद गर्नुहोला’, उनले भने, ‘जे पायो वध गरेर मानिसको वध गरेर जनताको मतसँग नसकेर पत्रकारका नाममा पीत पत्रकारिता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुन सक्छ ।’

उनले पार्टीको अभियानलाई बलियो बनाउन सहयोग गर्ने पत्रकारलाई आफूहरूले पार्टीको कार्यकर्ताका रूपमा व्यवहार गर्नेसमेत बताए । ‘अर्का माथि जाइलाग्ने । कुनै पार्टीको सदस्य बन्ने । कुनै पार्टीको अभियानलाई बलियो बनाउने अभियानमा हिँड्नु भयो भने पत्रकार होइन पार्टीको कार्यकर्ता सम्झने छौ’, उनले भने, ‘पार्टीको कार्यकर्ता सम्झिँदै गर्दा खेरी पार्टीको कार्यकर्ताको व्यवहार गर्ने छौ । याद गर्नुहोला नोटिस गर्नुहोस् ।’

उनले अत्तरियामा बिपी स्मृति भवन बनाउन लागिएको बताउँदै एक टेलिभिजनमा निकृष्ट कांग्रेसको भनिएकोमा आपत्ति जनाए । ‘हिजो एउटा टेलिभिजनमा निकृष्ट कांग्रेस भनेर भनिएको छ । यी शब्द त्यहाँका प्रस्तोताले फिर्ता लिएनन् भने बाध्य हुने छु हटाउनका लागि । हटाउन लगाउनका लागि’, उनले भने, ‘स्टुडियोमा बसेर धज्जी उडाउन सजिलो होला तर मेरो पार्टीको कार्यकर्तासँग सामना गर्न गाह्रो होला । अनुशासित पार्टी हो यो । अनुशासित कार्यकर्ता छन् यहाँ तर जब पार्टीको अस्तित्व माथि प्रश्न उठाइन्छ । त्यो चुनौतीलाई स्वीकार गरिन्छ ।’

उनले चौकिडाँडा देखाएर बिपी स्मृति भवन प्रति धावा बोल्न नपाइने बताए । उनले सामाजिक संजालमा लेख्नेहरूले पनि त्यसको परिणामका बारेमा सोचेर लेख्नुपर्ने चेतावनी दिए । सामुदायिक वन भित्र बिपी स्मृति भवन शिलान्यास गरिएपछि सामाजिक सञ्जालमा चर्को विरोध गरिएको थियो । 



‘हिजो अत्तरियामा दादागिरी गरेर गुजारा मात्रै होइन शोषण गरेकाहरू फेरी सलबलाउन थाले भने कांग्रेसले पुरै क्षेत्र उतार्न नपरोस्’, उनले भने, ‘मजाक होइन सामाजिक सञ्जालको भित्तामा लेखेर चित्त बुझाउनका लागि हो भने त ठिकै छ । त्यसको परिणाम पनि भोग्न सक्ने हिम्मत छ भने सोचेर लेख्नुस् ।’

गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्र भित्रै बिपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको थियो ।  बलायरले नै सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्रै शिलान्यास गरेका थिए । 



यो पनि पढ्नुहोस् : सामुदायिक वनभित्र पार्टी कार्यालय शिलान्यास 

  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १८:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया