६.५ सम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताएका हुन् ।

उनले २०७४ अघि औसतमा ४ प्रतिशतमा रहेको आर्थिक वृद्धि २०७४ देखि २०७६ सम्म ३ आर्थिक वर्षमा औसतमा ६.५ प्रतिशत हाराहारीमा रहेको भन्दै चालू आर्थिक वर्षमा ७ वा ८ प्रतिशत हुँदै डबल डिजिटमा पुग्नुपर्नेमा अहिले १.८६ प्रतिशत पुग्ने प्रक्षेपण हुनुको जिम्मवारी कसले लिने भन्दै प्रश्न गरे । पौडेलले केन्द्रीय तथ्याङ्क विभागले १.८६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेपनि चालू आवको अन्त्यसम्म त्यो पनि पूरा नहुने आशंका व्यक्त गरे ।

‘६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धि अहिले कसरी १.८६ प्रतिशतमा झर्यो भन्दै प्रश्न गरेका छन् । सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हुने भने पनि केन्द्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्ष १.८६ प्रतिशत आर्थिक वृद्धि हुने भनेको र चालू आवको अन्त्यसम्म त्यो पनि पूरा नहुने हो की भन्दै आशंका छ,’ पौडेलले भने, ‘२०७४ अघि औसतमा ४ प्रतिशतमा रहेको आर्थिक वृद्धि २०७४ देखि २०७६ सम्म ३ आर्थिक वर्षमा औसतमा ६.५ प्रतिशत हाराहारीमा रहेको थिया । त्यो अंक ७/८ प्रतिशत हुँदै डबल डिजीटमा पुग्नुपर्नेमा अहिले १.८६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ । यो प्रक्षेपण मात्रै हो ।’ 

उनले देश आर्थिक मन्दी, आर्थिक संकट हुँदै फेलियर कन्ट्रीतर्फ जान लागेको बताए । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले गत वर्षको यही समयमा अहिले संकलन भएको राजश्व १३ प्रतिशतले कम भएको भन्दै राजस्व परिचालन निकै लाजमर्दो अवस्था रहेको बताए । उनले गत आवको यो अवधिमा ८ खर्ब १७ अर्ब राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमा ७ खर्ब ८ अर्बमा मात्रै सीमित रहेको बताए । 

उनले अहिले खर्च गत वर्षको तुलनामा १९ प्रतिशतले बढी  भएको भन्दै आय १३ प्रतिशतले कम भएको बताए ।  

‘चालू आवको अन्त्यसम्म त्यो पनि पूरा नहुन पनि सक्छ । देशलाई यो अवस्थामा कसले पुग्यो ? त्यसका लागि जिम्मेवारी लिने कसले हो ? देश आर्थिक मन्दी, आर्थिक संकट हुँदै फेलियर कन्ट्रीतर्फ जान लागेको छ । गत वर्षको यही समयमा अहिले संकलन भएको राजश्व १३ प्रतिशतले कम भएको छ,’ पौडेलले भने, ‘राजश्व परिचालन निकै लाजमर्दो रहेको छ । गत आवको यो अवधिमा ८ खर्ब १७ अर्ब राजश्व संकलन भएकामा चालू आवको सोही अवधिमा ७ खर्ब ८ अर्बमा मात्रै सीमित भएको छ । अहिले खर्च गतको तुलनामा १९ प्रतिशतले बढी छ, आय १३ प्रतिशतले कम भन्दै यो बीचको अन्तर कसरी भयो ।’



उनले विनियोजन विद्येयकको सिद्धान्त र छलफलमा आर्थिक मन्दीलाई छोप्न खोजिएको आरोप पनि लगाए । पौडेलले सरकारले अर्थतन्त्रका समस्या चिन्न नसक्ने हो भने सरकारका आधिकारिक तथ्याङ्कलाई विश्वास गरेर अगाडि बढ्न सक्नुपर्ने बताए । उनले सरकारले विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतालाई परिमार्जन गर्न नसक्ने,समस्या केन्द्रित र समाधानमुखी नहुने हो भने अर्थतन्त्रका समस्या समाधान नहुने बताए । 

पौडेलले सरकारले वास्तविकतामा रहेर बजेट ल्याउन नसके मुलुकको अर्थतन्त्रको ओरालोको यात्रा नरोकिने दाबी गरे । उनले  सरकारले कर्मकाण्डी शैलीमा ल्याएको विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताले काम नगर्ने बताए । उनले विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता कर्मकाण्डी नभएर वर्तमान अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्ने सिद्धान्त र उचाइबाट आउन आवश्यक रहेको बताए ।  



‘सरकारले अर्थतन्त्रका समस्या चिन्न नसक्ने हो भने सरकारका आधिकारिक तथ्याङ्कहरूलाई विश्वास गरेर अगाडि बढ्न नसक्ने हो भने त्यही अनुरूपमा सरकारले विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतालाई परिमार्जन गर्न नसक्ने, समस्या केन्द्रित र समाधानमुखी नहुने हो भने हामी कहीँ पनि पुग्दैनौँ । मुलुकको अर्थतन्त्रको ओरालोको यात्रा रोकिँदैन,’ पौडेलले भने, ‘ब्रेक फेल भएको गाडीले ओरालोमा यात्रा गरेको जस्तो मुलुकको अर्थतन्त्र ओरालो नलागोस् । सरकारले कर्मकाण्डी शैलीमा ल्याएको विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताले हुँदैन । त्यो सिद्धान्त र उचाइबाट आउनुपर्छ । कर प्रणालीलाई प्रगतिशील र न्यायपूर्ण बनाउने, करको दायरा बिस्तार गर्ने,कर प्रशासनलाई प्रभावकारी बनाउने र कर चुहावटलाई नियन्त्रण गर्ने हिम्मतका साथ आउनुपर्छ । टालटुल गरेर राजश्व परिचालनमा देखा परेका समस्या समाधान हुन सक्दैन ।’ 

उनले कर प्रशासनमा देखिएको समस्या समाधान हुनेगरी सरकारको सिद्धान्त र प्राथमिकता आउनुपर्ने बताए । पौडेलले कर प्रणालीलाई प्रगतिशिल र न्यायपूर्ण बनाउने, करको दायरा बिस्तार गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउने र कर चुहावटलाई नियन्त्रण गर्ने हिम्मतका साथ आउनुपर्ने बताए ।  

‘सहकारी, सरकारी र निजी क्षेत्रबीचको सहकार्यलाई बढाउने, सहकारी र निजी क्षेत्रको मनोबल उठाउने, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने र व्यापार असन्तुलन कम गर्ने दृष्टिकोण लिएर सरकार आउनुपर्छ । अर्थतन्त्रका समस्या समाधानभन्दा वेवास्ता गर्न खोज्दा कहीँ पनि पुगिँदैन । दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने, गरिबीको रेखामुनी रहेका जनसंख्याको अनुपात कम गर्ने, गरिब र धनीबीचको खाडल घटाउने जस्ता विषयहरू ओठे अभिव्यक्ति मात्रै हुनकी पूरा हुन्छन्,’ पौडेलले भने ।
 
उनले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा सरकारले मुलुक आर्थिक अवस्थालाई बेवास्ता गरेको बताए । पौडेलले नेपाली अर्थतन्त्र यतिबेला मन्दीको अवस्थामा रहेको स्वयं सरकारले नै स्वीकार गरे पनि बजेटका सिद्धान्त र प्राथमिकता स्वीकार नगरेको बताए ।  

  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १४:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया