\
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आकस्मिक समयमा बोल्न नपाएको भन्दै राप्रपाका सांसदले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले प्रि–बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको बताएका थिए । पटकपटक समय माग्दा पनि सभामुखले समय नदिएर संसको नियमित कामकारबाही अघि बढाउन खोजेपछि राप्रपा सांसदले नाराबाजी गरेका छन् ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिँदैछ । छलफलपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन शनिबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । प्रि–बजेट छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि १५ जेठमा बजेट प्रस्तुत हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।