नागरिक उन्मुक्तिसहित ३० दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले ३० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । लगातार दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ५ राजनीतिक दल, समय गुजारेर प्रतिवेदन पेस गर्ने ९ राजनीतिक दल र अघिल्लो आर्थिक वर्षको आम्दानी खर्चको विवरण नबुझाउने १६ राजनीतिक दललाई आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोगले ती दलहरूलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ (१) अनुसार आयोगमा दर्ता भएको दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने छ। 

जसमध्ये ८२ वटा राजनीतिक दलले समयमै प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझाउनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत दल रहेका छन् । 

लगातार दुई वर्षसम्म प्रतिवेदन नबुझाउनेमा मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक रहेका छन् । 

त्यस्तै, समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउनेमा संसदमा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति, नेपाल समाजवादीसहित ९ पार्टी छन् । नेपाली ग्रिन्स पार्टी, नेपाल आमा पार्टी, नेपालवाद, त्रिमुल पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपालले पनि समयमा आयव्यय विवरण नपठाएका आयोगले जनाएको छ । 

आयोगका अनुसार नेपाः पार्टी, साझा पार्टी, गान्धीवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टीलगायत १६ दलले अघिल्लो आर्थिक वर्षको आम्दानी–खर्चको लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । 





  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार १०:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया