विराटको शतकका बाबजुद आइपिएलबाट बाहिरियो बैंग्लोर, प्लेअफ पुग्ने चार टोलीको टुंगो लाग्यो

विराट कोहलीको कीर्तिमानी शतकका बाबजुद रोयल च्यालेन्जर्स बैंग्लोर भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सविरुद्ध ६ विकेटले पराजित भएसँगै बैंग्लोर आइपिएलबाट बाहिरिएको हो । 

बैंग्लोरले प्लेअफमा स्थान बनाउन गुजरातलाई हराउनैपर्ने समीकरण बनेको थियो । यदि जित हात पारेको भए ऊ मुम्बई इण्डियन्सलाई नेट रन रेटमा पछि पार्दै प्लेअफमा पुग्ने थियो ।  

बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि विराटले शतकीय पारी खेले । ६१ बलको सामना गरेका उनले १३ चौका र १ छक्कासहित अविजित १ सय १ रन बनाए । आइपिएल २०२३ मा कोहलीको यो लगातार दोस्रो शतक हो ।

उनले अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ६३ बलमा १२ चौका र ४ छक्कासहित १०० रन बनाएका थिए । आइपिएल इतिहासमा कोहलीको यो सातौँ शतक हो । आइपिएलमा ७ शतक बनाउने उनी एक्लो ब्याटर हुन् । 

यस्तै, लिगको अन्तिम खेलमा कप्तान फाफ डुप्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज रावतले अविजित २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका लागि नूर अहमदले २, राशिद खान, यश दयाल र मोहम्मद शामीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गुजरातले १ सय ९८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर शुभमन गिलले शतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ८ छक्का र ५ चौकासहित अविजित १०४ रन बनाए । जारी सिजनमा गिलको यो लगातार दोस्रो शतक हो ।



अघिल्लो खेलमा उनले हैदराबादविरुद्ध १ सय १ रनको इनिङ खेलेका थिए । यस्तै, बैंग्लोरविरुद्ध विजय शकंरले ५३ र ऋद्धिमान साहले १२ रनको योगदान दिए ।

बैंग्लोरका लागि मोहम्मद सिराजले २, हर्षल पटेल र विजयकुमार वैशाकले १/१ विकेट लिए । योसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको छ । यसपटक गुजरातसँगै चेन्नई, लखनउ र मुम्बईले प्लेअफको यात्रा गरेका हुन् ।   



राजस्थान, बैंग्लोर, कोलकाता, पञ्जाब, दिल्ली र हैदराबाद भने लिग चरणबाट बाहिरिए ।   

  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार ६:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया