उद्योगमन्त्री रिजाल र चिनियाँ राजदूतबीच भेट, के–के विषयमा भयो कुराकानी ?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको छ । 

सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै  चिनियाँ राजदूत चेन सङ्को प्रशंसा गरे । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेकोसमेत मन्त्री रिजालले स्पष्ट पारे ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं उच्च महत्व रहेको बताए । चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुराप्रति प्रतिबद्धता जनाउँदै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधीनताको सम्मानका लागि चीन सदैव अडिग रहेको प्रति नेपालको उच्च सम्मान रहेको बताए ।  

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको जनाउँदै मन्त्री रिजालले नेपालको कुल वैदेशिक व्यापारको १४ प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पारे ।  

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीनबीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरणसमेत गराए । 

तातोपानी, रसुवा तथा हिल्सानाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे ।  



भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैं एक चीन नीतिको समर्थन गर्दै आएकामा धन्यवाद दिए । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको जनाउँदै उनले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए । 



  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ६:३६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया