संसदमा रवि लामिछानेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ चेक गर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै लामिछानेले संसदीय विशेष समिति गठन गर्न माग गरेका हुन् । शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने अधिकारी प्रमुखहरूको नाम पनि आइरहेको उल्लेख गर्दै लामिछानेले नागरिकले अब कसको विश्वास गर्ने भनी प्रश्नसमेत गरे ।

‘आज कुनै पनि राजनीतिक दल बाँकी रहेको छैन, जसलाई आरोप लाग्न बाँकी रहेको होस्, त्यति मात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी प्रमुखहरूको नाम आइरहेको छ । यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन,’ लामिछानेले भने, ‘दिनदहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा, लेनदेन भइरहेका विषयहरू आइरहेका छन् ।  यहाँ मुछिएका मान्छेहरू हेर्नुस्, यो राज्यमा हामीलाई कसलाई विश्वास गर्ने ? त्यसकारण यो विश्वासका वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’

उनले अडियो सार्वजनिक हुँदासमेत प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई छानबिनको दायरामा ल्याउन नसकेको भन्दै सरकारको आलोचना पनि गरे । लामिछानेले यस प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री किन डराएको भन्दै प्रश्नसमेत गरे ।   

‘जुन–जुन निकायहरू यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सभामखुमार्फत यो अनुरोध गर्दछु कि जस–जसको नाम आएको छ । तीनलाई छानबिनको दायरासम्म ल्याउन नहुने, सोधपुछसम्म गर्न नहुने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? उहाँको मुटु कति दह्रो छ भन्नेकुरा हामीले देखेका छौँ,’ लामिछानेले भने । 

उनले अगाडि थपे, ‘नाम आएका मान्छेहरूसँग सोधपुछ हुनुपर्‍यो । उनीहरूलाई कारबाहीको दायरमा ल्याउनुपर्यो, खुट्टा कमाउनुभएन, आमनागरिकका हकमा, आउँछु भन्दाभन्दै धरपकड गरेर गएको इतिहास छ, न्युज रुमबाट समातिएको मान्छे म यहीँ छु, मान्छेले अडियो दिएका छन् । र प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा एकपटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू ? यो गम्भीर विषय छ ।’ 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १२:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया