नयाँ शक्तिले थालेको जनसंवाद यात्रा सम्पन्न

काठमाडौँ– नयाँ शक्ति पार्टी, नेपालले थालेको जनसंवाद यात्रा सम्पन्न भएको छ । माघ १५ गते पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडी र पुष्पलाल लोकमार्गमा ‘असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद’ भन्ने नाराका साथ सुरु गरेको 'जनसम्वाद यात्रा' बुधबार बैतडीको गोठालापानीमा समापन गरेको हो ।  

जनसम्वाद यात्राका मिहिन, गम्भीर र दीर्घकालीन विषयहरूमा केही दिनमा प्रष्ट पार्ने पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

जनसम्वाद यात्रामा पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, गुल्मी, पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी २८ जिल्लामा कुल १४४ जनसम्वाद कार्यक्रम भए भने ५० हजारभन्दा बढीसँग प्रत्यक्ष र लाखौं जनसमुदायसँग अप्रत्यक्ष जनसम्वाद गरिएको पार्टीले जनाएको छ । 

जनसम्वाद यात्रा पूर्वनिर्धारित समयमा प्रारम्भ भई पूर्वनिर्धारितसमयमा नै सम्पन्न भएको छ । ३० दिन लामो यात्रा, जटिल भूगोल, निर्माणाधीन सडक ट्याक, वर्षा र हिमपातका बावजुद जनसम्वाद यात्रा भव्य, ऐतिहासिक र सार्थक ढंगले सम्पन्न भएको उक्त पार्टीले जनाएको छ ।   

नेपाली जनताको अपार माया र सद्भाव, पार्टी पंक्तिको दृढ संकल्प र दुरूस्त व्यवस्थापन क्षमताबाट जनसंवाद यात्रा  सम्भव हुन सकेको पार्टीले जनाएको छ । 

'यो जटिल र लामो यात्राको सफलताले पार्टी पंक्तिको दृढता र संकल्पलाई नयाँ उचाईमा विकसित गरेको महसुस भएको छ, विज्ञप्तिमा भनिएको छ, ‘जनसम्वाद यात्राका क्रममा वर्तमान सरकारको अकर्मण्यता, असक्षमता, नालायकिपनप्रति आम निराशा व्याप्त हुँदै गएको, मध्यपहाडी लोकमार्ग निर्माणमा पर्याप्त तदारूकता नदेखाइएको, मुआब्जाको समस्या सम्बोधन नगरिएको, सरकारी निकायहरूमा भ्रष्टाचार र बेथिति फैलिँदै गएको, अर्थतन्त्र शिथिल भएको, जनजीवन कष्टकर हुँदै गएको र राज्यको विश्वस्नियता ह्रास हुँदै गएको अनुभूति सर्वत्र पाइयो ।’



जनसम्वाद यात्राका क्रममा जनमसुदायबाट हजारौँ  सुझाव, गुनासा र जानकारीहरू प्राप्त भएको पार्टीले जनाएको छ । स्थानीय विकास, आर्थिक समृद्धि, समावेशिता र संघीयता कार्यान्वयनका समस्या र सुशासनको अपरिहार्यतामा केन्द्रित रहेको उक्त पार्टीको भनाई छ । यी सबैको संश्लेषण गरी सम्वद्ध सरोकारवाला निकायमा पठाउने, कार्यान्वयनका लागि जनपैरवी गर्ने, चौतर्फी दबाव सृजना गर्ने प्रतिवद्धता पनि पार्टीले गरेको छ ।

यात्राका क्रममा आम जनसमुदायका अतिरिक्त स्थानीय तह र निर्वाचित जनप्रतिनिधि, विभिन्न दल तथा संघसंस्था, उद्योग वाणिज्य तथा निजी क्षेत्र, सञ्चार माध्यम, सुरक्षा निकाय लगायत सबै पक्षबाट हामीले महत्त्वपूर्ण साथ, सहयोग, सद्भाव र समर्थन प्राप्त गरेको भन्दै नयाँ शक्तिले आभार समेत व्यक्त गरेको छ ।  
 



  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार १२:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया