जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् । 

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति थियो । सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने उनको भनाइ छ । 

शनिबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले सो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने आश्वासन समेत दिए । 

‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो,’ प्रधानमन्त्री दाहालले भने, ‘सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ ।’

पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित नभएको उल्लेख गर्दै दाहालले भने, ‘यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रमसम्बन्धी उठेका प्रश्नको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकी विस्तृत रूपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’

प्रधानमन्त्री दाहालको सो जवाफपछि अहिले संसद बैठक सुचारु भएको छ । एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार (हिजो) प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १७:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया