‘तीन तहका सरकारले गर्ने योजना वर्गीकरण गर्न आवश्यक’

संघीय संरचना अनुसार तीन तहका सरकारले गर्नुपर्ने आयोजनाका योजनाहरू वर्गीकरण गर्न आवश्यक रहेको सरोकारवाला निकायहरूले जोड दिएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै राष्ट्रिय योजना आयोग,लगानी बोर्ड र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहका सरकारले गर्ने आयोजनाका योजनाहरू वर्गीकरण गर्न आवश्यक रहेको बताएका हुन् । 

तीन वटै सरोकारवाला निकायहरूले तीन तहका सरकारले आयोजना निर्माण गर्दा आयोजना वर्गीकरण गरी काम गर्दा प्रभावकारी हुने बताएका छन् । समिति बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले तीन तहको संरचना बने पनि संघले गर्ने कामहरू प्रदेश र स्थानीय तहले गर्ने गरी तेहेरो समस्या सिर्जना भइरहेको बताए । उनले योजना आयोगले आयोजना छनोटमा तेहेरोपनका समस्या समाधानको लागि योजना बैंक र योजना वर्गीकरण मापदण्ड अन्तिम चरणमा पुगेको बताए । 

उनले कुन काम स्थानीय, प्रदेश र संघ सरकारले गर्ने भन्ने अस्पष्ट हुँदा योजनाहरू कार्यान्वयनमा समस्या रहेको बताए । उनले ५ करोडसम्मका आयोजनाहरू स्थानीय तह, २५ करोडसम्मका प्रदेश र त्यो भन्दा माथिका संघले गर्ने गरी योजना बैंक र आयोजना वर्गिकरणले मापदण्ड आउन लागेको बताए । उनले योजना आयोगले गर्नुपर्ने भूमिका निर्वाह गर्न नसक्दा आयोग खारेजको माग आउन थालेको भन्दै आयोगलाई थप परिष्कृत गर्न आवश्यक रहेको बताए । 

उनले योजना आयोगले राखेका लक्ष्यहरू पूर्ति हुन नसक्दा पुँजीगत खर्च हुन नसकेको बताए । उनले आयोजनाहरूको छनोट प्रणाली नै बेठिक भएकाले पुँजीगत खर्च कम हुनुको प्रमुख कारण रहेको बताए । 

‘२०१३ साल देखि नीति तथा योजनाहरू बनायौँ । योजनाहरू पुरस्कृत पनि हुँदै आए । हाम्रो अहिलेको समस्या भनेको योजनाले राखेका लक्ष्यहरू पूर्ति नहुने ग्याप बढी हुने समस्या भोगिरहेका छौँ । यहीसँग पुँजीगत खर्च हुन नसक्नुको कारण सम्बन्धित हो । अहिले भइरहेका विकास निर्माणका कामहरू प्रभावकारी हुन नसकेको टिप्पणीहरू आउने गरेका छन्’, उनले भने, ‘योजना आयोग विघटन र खारेज गरौँ भन्ने कुराहरू आएका छन्। किन आए भन्दा राष्ट्रिय योजना आयोगले भूमिका निर्वाह गर्न सकेन भन्ने कोणबाट नै आएको हो । त्यसलाई कसरी परिष्कृत गर्ने भन्ने कुरा सोचिरहेका छौँ ।’

लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील भट्टले पूर्वाधार विकासको लागि सरकारले आर्थिक जगको विकास गर्नुपर्ने बताए । उनले ठूला पूर्वाधारमा निजी लगानीकर्ताहरूको मनोबल वृद्धि गरेर आयोजनाबाट प्रतिफल सुनिश्चित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले लगानी बोर्डमार्फत अहिले करिब ३ खर्बका आयोजनाहरू निर्माण चरणमा गएको बताए । उनले ३ खर्बका परियोजनाहरू कार्यान्वयन ढाँचामा लगानी प्रवर्द्धन र परिचालन हुने गरी परिणाममुखी बनाउने गरी अगाडि बढेको बताए । उनले ३ खर्बको लगानी अबका दुई आर्थिक वर्षभित्र भित्र्याउन सफल हुने भन्दै ३ खर्ब भन्दा बाहेकका अन्य १० अर्बका ३६ वटा आयोजनाहरू रहेको बताए ।



त्यस्तै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संसद विकास कोषमा बजेट नछुट्याउनको लागि प्रदेश सरकारलाई पनि समितिले निर्देश गर्नुपर्ने बताए । उनले संघीय संरचना अनुसार योजनाहरू बनाउन नसके विकासको बाटो पहिल्याउन नसकिने बताए । उनले तीन तहको सरकारले योजनाहरू बनाउँदा कामको आधारमा योजनाहरू बन्नुपर्ने बताए । 

उनले स्थानीय सरकारले गर्ने आयोजनाहरूमा प्रदेश र संघ प्रवेश गर्दा संघ सरकारले स्थानीय र प्रदेश सरकारले के गर्दै छ भन्ने विषयमा जानकार नहुने बताए । उनले योजना छनोट गर्दा कामको आधारमा संघीय संरचना अनुसार नगर्दा गोलमाल हुने बताए । पौडेलले योजनाको हिसाबले सशर्त अनुदान आयोजना अनुसार तोक्दा समस्यामा पार्ने बताए । 



  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १३:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया