टीकापुर हत्याकाण्डमा मुख्य दोषी ठहरिएका रेशमलाल चौधरी सोमबार जेलमुक्त भएका छन् । तर, उनीसँगै जेल परेका अरू कैदी भने जेलमुक्त हुन सकेनन् । उक्त घटनामा जोडिएका केही कैदी हाल कैलाली कारागारमा छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाई सरकारले आइतबार कैदमाफी दिने निर्णय गरेसँगै सोमबार उनी कैदमुक्त भएका हुन् । कैदमुक्त भएसँगै रेशम बर्दिया हुँदै धनगढी आउने कार्यक्रम छ ।
नेता लक्ष्मण थारूका अनुसार उनी सोमबार काठमाडौंबाट बर्दिया आउने र भोलि (मंगलबार) धनगढी पुग्ने कार्यक्रम रहेको हो । रेशमले धनगढीस्थित कैलाली कारागारमा रहेका कैदी बन्दीलाई भेट्ने जनाएका छन् । तर, कारागारमा रहेका कैदीले भने रेशमलाई नभेट्ने प्रतिक्रिया दिएका छन् ।
अहिले टीकापुर घटनामा हरिनारायण, प्रदीप र वीरबहादुर चौधरी कैलाली कारागारमा छन् । यस्तै, सो घटनामा दोषी ठहर भएका अर्का एक नाबालक पोखरास्थित सुधारगृहमा छन् । कैलाली कारागारमा रहेकाहरूले आफ्नो पार्टी सरकारमा रहँदासमेत रेशमले आफूलाई मात्र कैदमाफी गराएर कैदमुक्त भएको भन्दै नभेट्ने प्रतिक्रिया दिएको परिवारका सदस्यले बताएका छन् ।
कारागारमा कैद सजाए काटिरहेका प्रदीपकी दिदी रञ्जिताले भनिन्, ‘आज भाइ पनि कैदमुक्त हुँदैछ भन्ने सुनेको थिए । बिहान फोन गर्दा नछुट्ने प्रतिक्रिया पाए । नेता रेशमले आफूलाई मात्र कैदमाफी दिलाई कैदमुक्त भए । उहाँसँग भेटघाट गर्दैनौँ ।’
रेशमलाई मात्र सरकारले कैदमाफी दिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटनाका कैदीहरूले नभेट्ने प्रतिक्रिया दिएका छन् । पहिचान र थरूहट राज्यको माग गर्दै थरूहट/थारूवान संयुक्त संघर्ष समिति अहिले पनि आन्दोलित छ ।
टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, वन्दीलाई निःस्वार्थ रिहाइ गर्नुपर्ने, पहिचान र अधिकारसहितको थरूहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरूले माग गरिरहेका छन् ।
थरूहट/थारूवानका नेता माधव थारूले रेशमको रिहाइमा टीकापुर घटनाको कुनै संलग्नता नरहेको बताउँछन् । उनी भन्छन्,‘यो सरकारको निर्णय हो । यसमा म केही भन्दिनँ । उहाँको पार्टी सरकारमा रहेकाले उहाँले रिहाइ पाएका हुन् ।’
उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दा पनि सुनुवाइ भएको छैन । थारूहरूलाई नै दोषी देखाउने गरी जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ । प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिई निर्णय गरेका छन् ।’
७ भदाै २०७२ मा आन्दोलनले उग्ररूप लिँदा हिंसात्मक बनेको थियो । उक्त हिंसात्मक प्रदर्शनमा एक नाबालकसहित आठ जनाले ज्यान गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।