‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । 

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्गप्रशस्त भएको बताए । 

नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ । 

'राष्ट्रपति पौडेलको यस कदमले ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ,' कार्यकारी अध्यक्ष डा. केसीले भने,'विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ ।'

विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ । संघले नागरिकता विधेयकालाई निष्कर्षमा पुर्याउन भूमिका निर्वाह गरेकामा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ । 

राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १९:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया