सरकारले बजेटमा नै ढाँट्यो : विष्णु पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौती गर्ने प्रतिवद्धताविपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले आगामी आर्थिक वर्षको बजेटमा चालू खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताए । 

प्रतिनिसभा सदस्यसमेत रहेका पौडेलले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको बताए । ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालू खर्च घटाउने भनियो । चालू आर्थिक वर्षको चालू खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्ब​ले बढि छ,’ उनले भने, ‘यसरी चालू खर्च घटाउने दाबीलाई बजेट स्वयंले खण्डन गरेको छ सभामुख । भन्दा चालू खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालू आर्थिक वर्षका लागि पूँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ ।’

उनले पुँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब​ ३१ करोडले बजेट घटाएको तथ्य पनि औंल्याए । पौडेलले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी गरे ।

‘चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्ब ३१ करोडले कम छ । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असंगत छ,’ पौडेलले भने ।  

उनले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकिरसमेत गरे । 





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार १२:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया