अझै कहिलेसम्म बढ्छ गर्मी ? यस्तो भन्छन् मौसमविद्
मनसुन आइपुग्न समय लाग्ने

तराईसहित देशको केही भू–भागमा पछिल्लो समय अत्यधिक गर्मी बढेको छ । गर्मीकै कारण जनजीवन नै अस्तव्यस्त बनेको छ । चर्को गर्मीले गर्दा तराईका केही स्थानमा शिक्षण संस्थासमेत बन्द गरिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले तराई भू–भागमा अझै केही दिन ‘लू’ अर्थात् तातो हावा चल्न सक्ने भएकाले सकेसम्म बाहिर ननिस्किन आग्रहसमेत गरेको छ । मनसुनी वर्षा सुरु नहुँदासम्म अत्यधिक गर्मी कायम रहने विभागले जनाएको छ । सामान्यतः नेपालमा मनसुन ८ जुनमा सुरु हुन्छ, तर यसपटक मनसुन सुरु हुन ढिलाइ भएको छ । 

मौसम विज्ञान विभागले १८ जेठदेखि १३ असोजसम्मको अवधिलाई मनसुनी समय मानेको छ । आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागमा अत्यधिक गर्मीको सम्भावना अझै रहेको र बागमती प्रदेशको तराईका भू–भाग र मधेश प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने विभागले जनाएको छ । 

प्रशान्त महासागरमा ‘एल निन्यो’ नामक वातावरणीय फेनोमिनाको विकास भएकाले नेपालमा अत्यधिक गर्मी महशुस गरिएको मौसमविद् ऋषिराम शर्मा बताउँछन् । मौसमविद् शर्माका अनुसार मनसुनभन्दा अगाडिको समयमा गर्मी महशुस हुनु स्वाभाविक प्रक्रिया हो ।  तर, यस वर्ष अन्य वर्षको तुलनामा बढी गर्मी महसुस गरिएको छ । 

‘प्रशान्त महासागरको पूर्वीय तटमा ‘एल निन्यो’ नामक वातावरणीय फेनोमेना छ । जसले गर्दा पृथ्वीको तापक्रम औसतभन्दा बढी हुन्छ । त्यसको दुरप्रभावले नेपालमा मौसमी गतिविधिमा समेत प्रभाव पार्छ । यसको प्रभावका कारण नेपालमा मनसुन सिजनमा कम वर्षा हुने सम्भावना अत्यधिक हुन्छ,’ मौसमविद् शर्माले भने ।

उनका अनुसार ‘एल निन्यो’ २–५ वर्षमा विकास हुने भएकाले यो वर्ष अत्यधिक गर्मी महशुस भएको हो । साथै जलवायु परिवर्तनको आंशिक असरका कारणले पनि पृथ्वीको तापमान घटबढ भइरहेको मौसमविद् शर्मा बताउँछन् । जथाभाबी बोटबिरुवाको फडानी, इन्धनयुक्त गाडीको अत्यधिक प्रयोगले पनि पृथ्वी तात्न मद्दत पुगिरहेको उनको भनाइ छ । 



विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार अहिलेको गर्मीसँग तीनवटा अवस्था जोडिएको देखिन्छ । ‘पहिलो त नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउँछ,’ मौसमविद् कँडेल भन्छिन्, ‘दोस्रो अहिले वर्षा गराउने गतिविधि कम भएको छ, जसले गर्दा गर्मी धेरै भइरहेको छ र तेस्रो कारण जलवायु परिवर्तनको असर हो ।’ तर, नेपालमा अझै ५–६ दिनसम्म मनसुन सक्रिय नहुने पूर्वानुमान रहेको मौसमविद् कँडेलले बताइन् ।

विभागका अनुसार १९९० देखिको तथ्याङ्क हेर्दा (मुख्य २० वटा स्टेसन) सबैभन्दा धेरै अधिकतम तापक्रम धनगढीमा मापन भएको छ । धनगढीमा १६ जुन १९९५ मा अधिकतम तापक्रम ४६.४ डिग्री रेकर्ड भएको छ । नेपालगन्जमा १४ जुन २०१२ मा ४५ डिग्री र भैरहवामा ३ मे १९९५ मा ४५.२ डिग्री मापन भएको छ ।



विभागका अनुसार बुधबार डडेल्धुरामा २८, दिपायलमा ३९, धनगढीमा ४०, विराटनगर ३९, नेपालगञ्जमा ४१, जुम्लामा २९, घोराहीमा ३८, पोखरामा ३२, भैरहवामा ३८, काठमाडौंमा ३०, जनकपुरमा ३५ डिग्री तापक्रम मापन भएको छ । 

जनजीवन प्रभावित

अत्यधिक गर्मीका कारण तराईको जनजीवन कष्टपूर्ण भएको छ । अधिकांश स्थानमा गर्मीका कारण शिक्षण संस्था बन्द गरिएका छन् । गर्मीले घरबाहिर निसक्नै मुस्किल भएपछि बजारमा पनि चहलपहल कम भएको सरोकारवाला बताउँछन् । यसका साथै स्थानीय सरकारले गर्मीका स्वास्थ्यमा असर पर्ने भन्दै आम जनतालाई सजक र सर्तक रहन बारम्बार आह्वान गरिरहेको छ । 

गर्मीमा विभिन्नखाले स्वास्थ्य समस्या देखिने भन्दै स्वास्थ्य तथा मौसमविज्ञले पनि नागरिकलाई सर्तक रहन सुझाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन सुरु नभएसम्म गर्मी कम हुने सम्भावना देखिएको छैन । आगामी तीन दिन (३१ जेठ देखि १ असार) सम्म तातो हावा तथा ‘लू’ को सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागको अनुरोध छ ।   

मौसमविद् शर्माका अनुसार हिजोआज आमनागरिकले गर्मीबाट बच्न अत्यधिक घाममा नहिँड्ने, शितलमा बस्ने, धेरै पानी पिउने, घरमा पंखा, कुलर राख्नुपर्छ । 

‘भविष्यमा आइपर्ने गर्मीको समस्याबाट बच्न दिर्घकालीन रूपमा सोच्दा हरित गृह ग्यासको रोकथाम गर्नुपर्छ । प्रशस्त मात्रामा रुखहरू लगाउनुपर्छ । हरित गृह ग्यास उत्सर्जन नगर्ने प्रकारका इन्धनहरूको प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘नेपालको अवस्थामा हाइड्रोपावर, इलेक्ट्रिक गाडीहरूलाई बढावा दिनुपर्‍यो । कलकारखानामा भएका पुराना इन्जिनहरूको ठाउँमा इलेक्ट्रिक इन्धन राख्नुपर्‍यो । पृथ्वीको तामक्रमको सन्तुलन कायम गर्न बोटबिरुवा लगाउन अत्यधिक आवश्यक छ ।’   

मौसमविद् लामिछानेका अनुसार यो मनसुनमा नेपालमा कम वर्षा हुने र तापक्रम पनि सरदरभन्दा बढी हुने आकलन छ । मधेश प्रदेशको पूर्वी भू–भागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनुका साथै देशको पश्चिमी पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहनसक्ने सम्भावना रहेको छ ।  

ती भू–भागमा गर्मीको सम्भावना रहेकाले सचेत रहन विभागले अनुरोध गरेको छ । यसका साथै विभागले कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम घट्नुका साथै अत्यधिक गर्मी नहुने देखिएको जनाएको छ । 

  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार १४:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया