सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोड ५९ लाख, सुरुङ निर्माणदेखि मनोरेल सञ्चालन गर्ने लक्ष्य

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरेको हो ।  

आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले शुक्रबारको प्रदेशसभा बैठकमा चालूतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार (३२.७९ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रुपैयाँ (५८.१६ प्रतिशत) बजेट प्रस्तुत गरे । उनले प्रस्तुत गरेको बजेटमा विकास पूर्वाधारका कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।  

सडक पुलका लागि ५ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य लिएको छ । सडक पुलका लागि प्रदेश सरकारले ५ अर्ब ६८ करोड बजेट विनियोजन गरेको हो ।

प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको छ । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने जनाएको छ । 

प्रदेश सरकारले डडेल्धुराको महाभारत क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा बजेटमा उल्लेख गरेको छ । बाजुराको ढम्कनेदेखि पाण्डुसेनसम्म सुरुङ निर्माणको अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ । यस्तै, बजेटमा कैलालीको धनगढी–अत्तरिया, गोदावरी क्षेत्रमा मनोरेल सञ्चालन गरिने जनाएको छ । 

आर्थिक मामिला मन्त्री शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार मनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जनाएका छन् ।



प्रदेश सरकारले प्रदेश सांसदले वितरण गर्न पाउने गरी प्रदेश पूर्वाधार कार्यक्रम समेत ल्याएको छ । यो कार्यक्रमका लागि प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रलाई प्रतिनिर्वाचन क्षेत्र ३ करोडका दरले बजेट विनियोजन गरिएको छ । 

प्रदेश सरकारले किसानलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको छ । प्रदेश कृषि कृषिमा आत्मनिर्भर अभियान सुरु गरिने अभियान सुरु गरेको छ । प्रदेश कृषि प्रवर्द्धन कोषको स्थापना गरि कृषि ऋण उपलब्ध गराइने छ । 



दार्चुला र बाजुरामा व्यावसायिक च्याङगा पालनाका लागि १ करोड २० लाख रुपैयाँ छुट्याएको छ ।

कृषि क्षेत्रलाई मध्यनजर गर्दै कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । तरकारी फलफूललाई बजारीकरणका लागि लागत साझेदारी एम्बुलेन्स सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ । 


  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १८:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया