नेता सिटौलाको संकेत : यही अवस्था रहने हो भने कांग्रेस विभाजन हुन्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांगस पार्टी फुट्न सक्ने संकेत गरेका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । 

नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्दै उनले नेपाली कांग्रेसभित्रको अवस्था अहिलेकै निरन्तरतामा चल्ने हो भने ०५८ सालतिरको अवस्था हुने उनले दाबी गरे । पार्टीगत मतभेद बढ्दै जाँदा ०५८ सालमा नेपाली कांग्रेस विभाजन भएको थियो ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको टकरावका कारण देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा फुटेको कांग्रेस ०६४ सालको संविधानसभा निर्वाचनअघि पुनः एक भएको थियो । 

मुलुकको नेतृत्व गर्ने नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको नेता सिटौलाको भनाइ छ । पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायसमेतमा संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको उनले दाबी गरे । 

राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताउँदै नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताए । 

एकपटक नेपाली कांग्रेसले देशमा आमजनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिंगो नेपाललाई हिँडाउन सक्नुपर्ने नेता सिटौलाको ठम्याइ छ ।  
 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १७:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया