अनि अस्ताइन् अस्मि...

कैलालीको गोदावरी नगरपालिका अत्तरियामा एक १७ वर्षीया किशोरी शनिबार मृत फेला परिन् । गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा मृत फेला परिन् । 

शनिबार करिब ४ बजेको समयमा अस्मि आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनी आफ्नै पक्की घरको आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन । अस्मिले आफ्नो प्राण आफै परित्याग गरेको बताइयो । यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ ।

नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ । अस्मीकी दिदी (फुपूकी छोरी) राधाका अनुसार नेपालगन्जमा पढ्दा उनको भेट लक्ष्मी खड्कासँग भएको थियो । सँगै पढ्ने लक्ष्मी भाडाको कोठामा बस्दै आएकी थिइन् । गत जेठमा आफूलाई पढाइमा सहयोग गर्न भन्दै लक्ष्मीले कोठामा बोलाएको अस्मीले दिदी राधालाई बताएकी थिइन् ।

‘आत्महत्या गर्नुभन्दा अगाडि बहिनीले मलाई आफूसँग त्यो दिन भएको घटनाबारे बताएकी थिइन् । लक्ष्मीले पढ्न आउन भनी झुक्याएर कोठामा बोलाएको र त्यही घरमा बस्ने दिलेन्द्र शाहीले कोठामै आएर बलात्कार गरेको उनले बताएकी थिइन’, राधाले भनिन् ।

राधालाई अस्मीले घटनाको वृत्तान्त सुनाएकी थिइन् । त्यो दिन रातिसँगै सुतेकी साथी बिहान उठ्दा थिइनन् । तर बिहान उठ्दा दिलेन्द्र भने सँगै थिए । राति सुत्नुअघि लक्ष्मीले चिउरा खान दिएको र त्यसले आफूलाई उल्टी भएको अस्मीले दिदीलाई बताएकी थिइन् । सामान्य चिनजान भएको केटाले उक्त दिन आफूलाई बलात्कार गरेको थाहा पाएपछि अस्मीको मनोविज्ञान खलबल भएको थियो ।

परीक्षा सकिएपनि उनी घर आउन मानिरहेकी थिइनन् । तर, आफन्तको जिद्दीले उनी घर आइन् । उनले घटनाबारे दिदी राधालाई बताएपनि अरु कसैलाई नभन्न आग्रह गरेकी थिइन् । दिलेन्द्रले कसैलाई घटनाबारे बताएमा क्याम्पसमा बदनाम गरिदिने धम्की दिएपछि धेरै पटक आमालाई बताउने प्रयास गरे तापनि भन्न नसकेको राधा बताउँछिन् । त्यही घटनाले मानसिक तनावमा रहेकी अस्मीको स्वास्थ्यसमेत बिग्रेकाले उनलाई चिकित्सककहाँ लगिएको थियो । चिकित्सकले एक्लै भेटेर घटनाबारे बताउन आग्रह गरे पनि उनी मौन बसेकी थिइन् । आफूसँग गरिएको दुष्कर्मबारे मनमा कुरा खेलाउँदा खेलाउँदै अन्तमा उनी देहत्याग गर्ने निर्णयमा पुगेको अनुमान गरिएको छ ।



प्रहरीले अस्मी आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ । अस्मीका आफन्तले मंगलबार शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए । दिलेन्द्रलाई कैलालीमा झिकाइएको छ । 
 
आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ । नेपालगंजमा अध्ययनरत अस्मितामाथी नेपालगंजमै बलात्कृत भएको र, कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर आत्महत्या गरेको आफन्तको दाबी छ । 

बुधबार आफन्तले अस्मीका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अत्तरिया बजारमा प्रदर्शन गरेका थिए । उनीहरूले अस्मीको न्यायका लागि नारा लगाउँदै अत्तरिया चोक परिक्रमा गरी केही समय इलाका प्रहरी कार्यालयको गेटमा नाराबाजी गरेका थिए । 



  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १२:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया