मोटरसाइकलको ठक्करबाट कार्यालय सहयोगीको मृत्यु, प्रशासन मूकदर्शक बन्दा दोषी पत्ता नलागेको परिवारको आरोप

वैशाख १८ गते रातिको ९ बजे सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि सडकमा हिँड्दै गरेका बटुवालाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दियो । ठक्कर दिने मोटरसाइकल भाग्यो । बटुवा ढले । 

एकछिनमा प्रहरीले सडकमा पल्टिएका ती व्यक्तिलाई धनगढी सेती प्रादेशिक अस्पताल पुर्याए । ती व्यक्ति थिए, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीको कार्यालय सहयोगी ५२ वर्षीय खड्गे साउद​ । कैलालीको गोदावरी नगरपालिका–२ तेघरी घर भएका साउदको अस्पताल पुर्याउँदासम्म रक्ताम्मे थिए । 

प्रहरीले आफन्तलाई खबर गरे । घाइते खड्गका ज्वाइँ दिनेश खड्का र छोरी लक्ष्मी साउद अस्पताल पुगे । उनलाई बचाउन हरदम प्रयास गरे । आफन्तलाई सेती प्रादेशिक अस्पतालमा लापरबाही भएको महसुस भएपछि घाइतेलाई दुई किलोकिटर टाढा रहेको धनगढीकै निजी अस्पताल मायामेट्रो अस्पताल पुर्याए । त्यहाँ पुर्याउँदा अस्पतालले टाउकोमा ठूलो चोट लागेको हुँदा बचाउन सक्ने पाँच प्रतिशत मात्र आश देखायो । अस्पतालले गर्ने प्रयास गर्यो, तर दुर्घटनामा परेका साउदलाई बचाउन सकेन । 

रातिको १ बजे घाइते साउदलाई अस्पतालले बचाउन नसकेको आफन्तलाई जानकारी दियो । ‘घाइते अवस्थामा सेती प्रादेशिक अस्पतालमा पुर्याउँदा हामीलाई खबर गरेको हो,’ छोरी लक्ष्मी साउदले भनिन्, ‘बुबाको अवस्था रक्ताम्मे थियो । सिरियस बिरामीको पनि उपचारमा चासो नदिएपछि हामीले मायामेट्रो अस्पताल पुर्यायौँ । तर, पनि बचाउन सकेनौँ ।’ 

साउद श्रीमती र छोरीसहित संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको क्वार्टरमा बस्दै आएका थिए । लक्ष्मीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रशासनले कत्ति पनि सहयोग नगरेको गुनासो गरिन् ।



 ‘मुख्यमन्त्री कार्यालयअगाडि भएको घटनाको दुई महिनासम्म पनि अत्तोपत्तो छैन’, उनले रुँदै भनिन्, ‘घटना भएको दोस्रो दिनदेखि प्रहरी कार्यालय धाएकोधायै छौँ । तर, पनि केही टुंगो लाग्न सकेको छैन ।’ 

प्रहरीले घटनाको सत्यतथ्य खोजी गरिदिन्छ भन्ने आसमा दुई महिना पर्खिंदा पनि अहिले सम्म केही जानकारी नआएको उनले गुनासो गरिन् । साउद ४३ वर्षदेखि संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीमा कार्यरत थिए । रिटायर्ड हुन सात वर्ष बाँकी थियो । 



घरको अभिभावक नै ढलेपछि तीन छोरी, एक छोरा र उनकी श्रीमती सत्यतथ्यको खोजीमा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर खगेन्द्र साउदले घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

 ‘मुख्यमन्त्री कार्यलयअगाडि भएको घटना भएको हुँदा त्यहाँको सिसिटिभी फुटेजहरु अध्ययन भयो । फुटेजमा मोटरसाइकले ठक्कर दिएको देखिए पनि बाइक नम्बर हुलिया केही पनि देखिएन,’ उनले भने, ‘त्यसपछि प्राप्त सिसिटिभी फुटेजहरु थप अध्ययनका लागि काठमाडौं डिएसएल ल्याबमा पठाइएको छ । त्यो रिपोर्ट आउन बाँकी छ ।’

  • प्रकाशित मिति : असार १६, २०८० शनिबार १८:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया