विकासमा चरम लापरबाही : वर्षाैं बित्दा पनि पुलनिर्माण अलपत्र

विकास निर्माणमा लापरबाही हुँदा सुदूरपश्चिमका धेरै पुल निर्माण कार्य अलपत्र भएको छ । ठेक्का लागेको तीन वर्षमा सम्पन्न हुनुपर्ने पुल निर्माणको काम एक दशक पुग्न लागिसक्दा पनि सम्पन्न हुन सकेका छैनन् ।

डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिका जोड्ने पुल निर्माणको काम पाँचपटक म्याद थप हुँदा पनि वर्षौंदेखि अलपत्र छ । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका–१० बानिडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न ०७१ असार २९ गते सम्झौता भएको थियो । 

उक्त सम्झौता अनुसार ०७४ असार २८ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो । तर, हालसम्म २० प्रतिशत पनि काम भएको छैन । सुस्त गतिमा हुँदै आएको निर्माण पूर्ण रुपमा रोकिएको छ । निर्माण कम्पनीको बर्खायाम लागेपछि निर्माण कार्य रोकीएको जनाएको छ ।

उक्त पुल निर्माणका लागि मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाख ८८ हजार लागतमा निर्माण सम्झौता भएको थियो । करिब ४ सय मिटर लामो उक्त आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । पाँचपटक थप गरेको म्यादमा ०८० असारभित्र काम सम्पन्न गर्नुपर्नेमा २५ प्रतिशत मात्रै प्रगति भएको डिभिजन सडक कार्यालय डोटीले जनाएको छ ।

निर्माण कम्पनीले फछ्र्याेट गर्नुपर्ने रकम दुई करोड २९ लाख ६५ हजार छ । नियमअनुसार निर्माण कम्पनीले दुई सय दिनको जरिवाना तिरेर पनि काम गर्नुपर्ने हो । फिल्डमा प्रगति नदेखिएपछि डिभिजन सडक कार्यालय डोटीले उक्त निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

निर्माण कम्पनीले फिल्डमा काम गर्न खासै चासो नदेखाएको र हालसम्म कुनै कारण नदेखिएकाले पेस्की रकम जफत प्रक्रिया अगाडि बढाउन बैंकलाई पत्राचार गरिएको डिभिजन सडक कार्यालय डोटीका कार्यालय प्रमुख दीपककुमार झाले जानकारी दिए ।



कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने शिवगंगा नदीमा पुल बनाउन १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी ०७४ असारमा सडक डिभिजन कार्यालय, महेन्द्रनगर र उक्त कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । यस्तै, सरकारले ०७४ असार ३ गते पप्पु एड्भेन्चर जेभीलाई धनगढी उपमहानगर–१६ को पथरी र वडा नम्बर १७ को रामपुर जोड्ने पुल निर्माणको ठेक्का दिएको थियो । पक्की पुलको पिल्लरको फाउन्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण कार्य रोकिएको थियो । 

यस्तै, गरी कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । उक्त पुलमा तीनवटा मात्रै पिल्लर राखिएका छन् । देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएको हो । 



०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी २४ करोड ७३ लाख ८० हजारमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि पुल निर्माणले गति लिन सकेको छैन ।

पक्की पुलको पिल्लरको फाउन्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको हो । ठेकेदारले समस्या समाधानका लागि सडक विभागमा पेस गरेका विकल्प पास भइसकेको छ । तर, पुल निर्माणका लागि ताकेता गर्दा पनि सन्तोषजनक तरिकाले काम हुन नसकेको सडक डिभिजन कार्यालय महेन्द्रनगर कार्यालयका सूचना अधिकारी पीयूष चटौतले बताए । 

निर्माण कम्पनीले उक्त समस्याको समाधानको कुनै किसिमको चासो नदेखाउँदा म्याद थप नगरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगर जनाएको छ । निर्माण व्यवसायीले उक्त पुल निर्माणका लागि लिएको पेस्कीबापतको एक करोड १६ लाख रुपैयाँ जफत भइसकेको छ ।

  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १६:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया