छात्रवृत्ति उपलब्ध गराउन एनप्याब्सन र हिसानबीच सम्झौता

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) भक्तपुर र उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)बीच छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

एनप्याब्सनसँग आबद्धता भएका भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई कक्षा ११ मा हिसानले ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भएको हो । यसका लागि हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल र एनप्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काबीच सम्झौता भएको छ । आज एनप्याब्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति योजना सार्वजनिकीकरण गरी उक्त जानकारी दिइयो । 

हिसान भक्तपुर र निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) भक्तपुरबीच पनि हिजो छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको थियो । 

हिसान भक्तपुर १२ विद्यालय आबद्ध छन् । सहमतिअनुसार विद्यार्थीले भर्ना हुँदा वार्षिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । सम्झौतामा एनप्याब्सनमा आबद्ध रहेका विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाका आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले न्यूनतम ५० प्रतिशत छात्रवृत्ति र थप छुट तथा सहुलियत दिने उल्लेख छ ।

साथै, दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरूको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्दै जाने सम्झौता भएको छ । त्यस्तै, भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरूपमा कार्यक्रम गर्दै जाने पनि सहमति भएको छ ।

कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण बनाउन प्याब्सन र एनप्याब्सनसँग ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेबारेमा सम्झौता भएको बताए । त्यसबाहेक राज्यले तोकेको १० प्रतिशत छात्रवृत्ति पनि उपलबध गराउने उनको भनाइ थियो ।



एनप्याब्सनका अध्यक्ष सञ्जय खड्काले हिसानसँग भएको ५० प्रतिशत छात्रवृत्तिको सम्झौताले हरेक वर्ष निरन्तरता पाउनुपर्ने बताए । सम्झौताले एनप्याब्सनमा आबद्ध २७ वटा विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावकलाई भक्तपुरकै विद्यालयमा पढ्न प्रेरित गरेको बताए । 

यहाँका उच्च शिक्षा अध्यापन गराउने विद्यालय एवं कलेजले प्रविधिमैत्री शिक्षा, नवीनतम सुविधा, पढाइसँगै अतिरिक्त क्रियाकलाप गर्दै जानुपर्ने उनले औँल्याए । 



खड्काले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्न एक आपसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए । 

  • प्रकाशित मिति : असार २३, २०८० शनिबार १९:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया