राजसंस्थासम्बन्धी पार्टीको धारणा तय गर्न राप्रपा नेपालले बनायो समिति

राप्रपा नेपालले राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ ।  

आइतबार बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो । उक्त बैठकले उपाध्यक्ष प्रा.डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो । 

समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमानसिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्यसचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेको सो पार्टीले जनाएको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ । 

बैठकले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, पार्टीसँग आबद्ध भ्रातृ सङ्गठनहरू राष्ट्रिय खेलकुद सङ्गठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान सङ्गठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्यसचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम सङ्गठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी आगामी भदौको दोस्रो हप्ता काठमाडौंमा बोलाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार ६:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया