ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सिआइबीको आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले आज एक विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । 

‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रस्तुत कसुरको तथ्यगत विषयलाई अन्यत्रै मोडी कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा केही समाचार प्रकाशित भएकामा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ब्युरोले ललिता निवास प्रकरणको अनुसन्धानका क्रममा विभिन्न निकाय र महानुभावबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्त रूप दिने कार्यमा थप प्रेरणा मिलेको बताएको छ र आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको छ । 

सिआइबीले ललिता निवास प्रकरणमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षासमेत गरेको छ । साथै तथ्यपरक, निष्पक्ष र व्यावसायिक रूपमा प्रस्तुत कसुरको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा ब्युरो प्रतिबद्ध रहेको समेत बताएको छ । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार २३:२०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया