कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइसहित चार जनाको मृत्यु

कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो ।  

मृत्यु हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । 

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए ।

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।  

मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेकी प्रहरी निरीक्षक शाहीले बताए । बुबाको भने यसभन्दा अगाडि नै दुर्घटनामा परी निधन भएको थियो । 

यस्तै, सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट निधन भएको छ । सर्पले डसेलगत्तै उहाँलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा  जिल्ला अस्पताल पठाइएको थियो  तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताएका थिए  । 



सोमबार नै  महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो । दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो । 

लगत्तै सोही उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेको छ । 



  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १४:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया