सीताले झेल्न सकिनन् सन्तान गुमाउँदाको पीडा
छोरा र छोरीको निधनले गलेकी थिइन्,सीता

लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगसँगै लड्दै गरेकी प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहालकी पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे हृदयाघातका कारण निधन भएको छ । सीताको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । 

दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समयअघि प्रचण्ड दम्पतीको जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखियो । छोरीलाई क्यान्सर देखिएपछि प्रचण्ड दम्पती चिन्तामा परे । छोरीमा देखिएको क्यान्सरले पिता प्रचण्डलाई भन्दा बढी आमा सीतालाई गलायो । आमाको मन, छोरीलाई पीडामा देख्न कहाँ सक्थिन् र !

सीता दिनरात छोरीको चिन्ता लिइरहन्थिन् । प्रचण्ड दम्पतीले छोरी ज्ञानुको उपचारका सबै उपाय खोजी गरे ।  देशभित्र र बाहिर (भारत) पनि उपचारका लागि लगे । तर, ज्ञानुलाई क्यान्सर निको भएन । अन्ततः १३ चैत २०७० ज्ञानुको ४० वर्षकै उमेरमा काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भयो । छोरीको निधनले सीता विक्षिप्त बनिन् । 

छोरीको मृत्युले सीतालाई यसरी गलायो की उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थाल्यो । स्वास्थ्यमा समस्या देखिए पनि चिकित्सकले धेरै मानसिक तनाव नलिन र खुसी रहन सीतालाई सुझाए । 

समय आफ्नै सुरले चलिरहेको थियो । बेलाबेला जेठी छोरीको वियोगान्तमा सीता मुर्छा पर्थिन् । उनलाई श्रीमान् प्रचण्ड पुष्पकमल दाहाल, छोरा प्रकाश दाहाल, छोरी गंगा दाहाल, रेणु दाहाललगायत परिवारका सबै सदस्यले हेरविचार गरिरहेका थिए । 



समय सामान्य ढङ्गले अघि बढिरहेको थियो । यसबीच २०७४ मंसिर १० र २१ गते प्रतिनिधि सभाको चुनाव मिति तय भयो । एमाले र माओवादीले चुनावी तालमेल गरे । 
चुनाव प्रचारमा प्रचण्ड जति व्यस्त थिए, त्यति नै प्रचारप्रसारमा खटिएका थिए छोरा प्रकाश पनि । तर, चुनाव आउन एक हप्ता मात्र बाँकी रहँदा (२०७४  मंसिर ३) प्रचण्डदम्पतिलाई अर्को बज्रपात पर्‍यो । 

लाजिम्पाटस्थित घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको ३ मंसिर २०७४ मा मृत्यु भयो । प्रकाशको हृदयाघातका कारण मृत्यु भएको थियो । छोराको मृत्युपछि सीता झन् विक्षिप्त भइन् । एकपछि अर्को सन्तान गुमाउँदाको पीडा नै सीताको रोग बल्झाउने कारण बन्यो । सीता दैनिक शिथिल बन्दै गइन् । छोरीको प्रसङ्ग निस्कँदा उनी एक्कासि भक्कानिन्थिन्, मुर्छित हुन्थिन् । छोरी गुमाएको चार वर्षमै छोरा प्रकाशलाई पनि गुमाएपछि त उनी झनै विक्षिप्त भइन् । 



सन्तान वियोगले पार्किन्सन जस्तो लक्षण

जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाल गुमाएपछि सीतामा दाहालमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएको थियो । मस्तिष्कको कोसिकामा एक्कासि क्षति भएर सीतामा यो रोग देखिएको चिकित्सकहरूको भनाइ छ । यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ । यस रोगमा मानिस हिँड्न, बोल्न र निल्न सक्दैन । 

सन्तान वियोगले प्रचण्ड जसोतसो सम्हालिए । तर, छोराछोरीको मृत्युले आमा सीतालाई हदैसम्म गलायो । पुत्र वियोगको चोटले सीताले ओछ्यानलाई नै आफ्नो साथी बनाउन पुगिन् । 

उनलाई स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा–हिँड्दै लड्नेजस्ता समस्या थियो । सीतालाई रोगले थला पारेपछि अमेरिका, सिंगापुर, दुबईदेखि भारतसम्म लगेर उनको उपचार गरिएको थियो ।

उपचारका लागि देश, विदेश धाए प्रचण्ड दम्पती

पत्नी सीतामा रोग देखिएपछि प्रचण्डले सीतालाई ४ असार २०७५ मा सिंगापुर लिएर गए । सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गरियो । तर, सीताको स्वास्थ्यमा कुनै सुधार भएन । सीतालाई पुन ३ चैत २०७५ मा अमेरिकास्थित जोन्स हप्किन्स अस्पतालमा उपचार गरियो ।

 त्यसले स्वास्थ्यमा कुनै सुधार ल्याएन ।  त्यसपछि, ४ पुस २०७६ मा भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि उपचारको कोसिस गरियो । बाबा रामदेवबाट पनि सीताको रोग पार लागेन । त्यसपछि सीतालाई उपचारकै लागि २० पुस २०७७ मा भारतको मुम्बई लगिएको थियो । 

सीताको रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई म्याग्दीको तातोपानी कुण्डमा लगेर पनि स्नान गराएका थिए । तर अफसोस, सीतालाई उपचारका लागि देश, विदेशका नामी चिकित्सक, अस्पताल धाउँदा पनि कुनै सुधार देखिएन । 

गत वर्षदेखि सीताले मान्छेसमेत चिन्न छोडेकी थिइन् । सीता यतिसम्म अचेतन थिइन् की, आफ्ना पति प्रचण्ड तेस्रोपल्ट प्रधानमन्त्री भएको कुरासमेत थाहा पाउन सकिनन् । प्रधानमन्त्री निवास बालुवाटारमा अचेत पल्टेकी उनलाई २९ जेठ २०८० मा पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  

के हो पीएसपी रोग?

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो । जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरू बताउँछन् ।

पिएसपी रोग एक प्रकारको स्नायुसम्बन्धी रोग भएको न्यूरोलोजिस्ट डा. सुनिलराम कोइरालाले बताए । उनका अनुसार  ‘तउ’ नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) हुने गर्छ । तउ मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर बिग्रने गर्छ ।

पिएसपीबाट ग्रसित व्यक्तिहरूमा भने यो सही तरीकाले टुक्रँदैन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग अलग आकार तथा संख्यामा हुने गर्छ । साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ । जसले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने डा. कोइराला बताउँछन् । 

लक्षण

यसको लक्षण समय अनुसार गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन मुस्किल हुन्छ । यद्यपि हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरण शक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

उपचार विधि

यसको लक्षण पार्किन्सनसित मिल्दोजुल्दो हुने भएकाले चिकित्सकहरुलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ । कतिपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्रै रोग पत्ता लगाउन सकिन्छ । त्यसैले, यो रोग लागेको शंका लागेमा न्युरोलोजिस्टको सहायता लिन सकिन्छ ।

‘अहिलेसम्म प्रोग्रसिभ सुपरन्युक्लियर पाल्सीको कुनै उपचार फेला परेको छैन,’ डा. कोइराला भन्छन्, ‘तर, यसबारे विभिन्न अनुसन्धान भने भइरहेको छ । जसले यसलाई नियन्त्रण गर्न सकियोस् र, समस्या गम्भीर हुनबाट जोगियोस् । यद्यपि, यसको उपचार पनि अलग–अलग हुने गर्छ ।’

पिएसपीको प्रभावकारी उपचारबारे विभिन्न अनुसन्धान भइरहेको छ । यद्यपि न्यूरो सर्जन र न्यूरोलोजिस्ट मिलेर यसको उपचार गर्दै आएका छन् । सुरुमा औषधि सेवन गर्ने र औषधिले काम नगरे मस्तिष्कको अपरेसन गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । 


  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १३:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया