जसले पुष्पकमललाई ‘प्रचण्ड’ बनाइन्
को हुन् सीता ?
प्रचण्ड सन् २००५ मा दाङमा श्रीमती सीतासँगै स्याटेलाइट फोनमा कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : नेपाली टाइम्सबाट

सीता दाहालको जन्म वि.सं २०११ असार २१ गते कास्कीको हेम्जामा भएको थियो । आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको विवाह वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग २०२६ सालमा भएको थियो ।

विवाहपछि प्रचण्डसँगै राजनीतिक यात्रामा होमिएकी सीता बिरामी हुनु पूर्वसम्म पार्टीको सक्रिय राजनीतिमा थिइन् । लामो समयदेखि पार्किन्सन नामक रोगबाट पीडित सीताको आज बिहान ८:३३ बजे निधन भएको हो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आज बिहान नर्भिक अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार उनको हृदयाघातका कारण निधन भएको हो । २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

१३ चैत २०७० मा जेठी छोरी ज्ञानु दाहाललाई गुमाएपछि विछिप्त बनेकी सीताको स्वास्थ्य अवस्था त्यहीबाट बिग्रन सुरु गरेको जानकारहरू बताउँछन् । स्तन क्यान्सरबाट पीडित ज्ञानुको ४० वर्षका उमेरमा निधन भएको थियो ।

त्यसको ४ वर्षपछि ३ मंसिर २०७४ मा एक मात्र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भएपछि सीताको स्वास्थ्यमा थप समस्या देखिएको थियो । सोही वर्ष चैतमा प्रचण्ड पत्नी सीताका माइला भाइ महाप्रसाद पौडेलको पनि मृत्यु भएको थियो । जसका कारण उनको स्वास्थ्यमा थप समस्या देखिएको थियो ।



पार्टीको कामको सिलसिलामा पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । सीता दाहाल प्रचण्डकी पत्नी मात्र नभएर राजनीतिक सहकर्मी थिइन् । प्रचण्डको हरेक पाइलामा उनको साथ र सहयोग थियो ।

१ फागुन २०५२ मा सुरु भएको जनयुद्ध १० वर्षसम्म चलेको थियो । यो अवधिमा सीताले श्रीमान् प्रचण्डसँगै भूमिगत रहेर पार्टीको काम कारबाहीमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
तीन छोरी र एक छोरा गरी चार सन्तानकी आमा सीताले पारिवारसँगै पार्टीको जिम्मेवारलाई पनि कुशलता पूर्वक बहन गरेकी थिइन् ।



उनकी माइली छोरी रेनु दाहाल हाल भरतपुर महानगरपालिका प्रमुख छन् भने कान्छी छोरी गंगा दाहाल प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव छन् । सीता दाहालको परिवार नै राजनीतिमा सक्रिय छ ।

राजनीतिक उतार चढाव आउँदा श्रीमान् प्रचण्डको हातमा हात मिलाएर साथ दिएकी सिता दाहालको जिम्मेवारीलाई अन्य कम्युनिस्ट नेताहरूको भन्दा कम आँक्न मिल्दैन । नेपाली समाजको स्मृतिमा सधैँ स्मरणीय रहेनेछिन्, सीता । 


  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १४:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया