के भनौँ । श्रीमती सीता दाहाल । नामको अगाडि स्वर्गीय लगाउनु सबैभन्दा पीडादायक क्षण हो । तर कठोर सत्यबाट कसले पो आँखा चिम्लिन सक्छ । जीवनभर संकट र संघर्षमा बिताएकी सीता दाहालले सात दशकको आफ्नो पृथ्वीलोकको बसाइलाई आज बिहान बिट मारिन् ।
यस्तो लाग्छ– त्याग र सीता एकअर्काका पर्याय हुन् । द्वापर युगकी सीतालेजस्तै यी सीताले पनि पतिको पद्चाप पछ्याइन् । पतिको सारथि बन्नु नै जीवनको उद्देश्य बनाइन् । आफ्नो श्रीमान् पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सपना पूरा गर्न उनले आफ्नो सपनालाई तिलाञ्जली दिइन् ।
पाँच दशकभन्दा बढी समय पति प्रचण्डलाई घरायसीदेखि राजनीतिक जीवनसम्म निरन्तर साथ दिएकी सीता पति पटकपटक सत्ताको नेतृत्वमा पुग्दा पनि बेदाग रहिन् । उनी सत्ताको फूर्तिफार्ती र चमकदमकबाट टाढै रहिन् । शक्तिको दुरुपयोगमा उनी विवादमा परेको कहिले सुनिएन । उनी जति बाँचिन्, साधारण गृहिणी र नेकपा माओवादीको सल्लाहकारको भूमिकामा बसेर बाँचिन् ।
जुन अस्पतालमा ६ वर्षअघि छोरा प्रकाशको निधन भएको थियो, आमा सीताले पनि त्यहीबाट मृत्युवरण गरिन् । उनको शरीर रोगहरूको घर बनिसकेको थियो । पाँच दशकदेखि खुल्ला र भूमिगत राजनीतिक जीवनमा निरन्तर होमिएकी सीताले कम्युनिष्ट दर्शनमा आस्था राखिन् ।
पार्टीभित्र उनी अध्यक्ष कमरेडकी श्रीमती भए पनि उनको भूमिका समन्वयकारी रह्यो । चाहे पार्टी होस् चाहे घर पटकपटक आइपर्ने अन्तरविरोधहरू सल्टाउन सीताको प्रयास रह्यो । यसैले पनि माओवादी पार्टी पंक्तिमा उनी आमा भनेर सम्बोधीत भइन् । पार्टी हेडक्वार्टरकी अभिभावक रहिन् ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्ड परिवारमा अशान्तिका मोडहरू आए, ठाउँठाउँमा । छोरी अनि छोरा गुमाउनुपर्यो । पति प्रचण्डको जीवनमा धेरै उतारचढाव आउँदा उनको हातमा हात मिलाएर साथ दिएकी सारथि सीतालाई सलाम । आखिर एकदिन त सबैलाई जानु छ, संसार छाडेर । नेपाली समाजको स्मृतिमा सधैं स्मरणीय रहने छिन्, सीता ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।