राष्ट्रिय किसान सञ्जालको चेतावनी- कालीमाटीका स्टल पुरानै व्यापारीलाई दिने निर्णय नसच्याए आन्दोलन गछौँ

राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजारका स्टल तथा सटरबिना प्रतिस्पर्धा पुरानै व्यापारीलाई नवीकरण गर्ने निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ  ।

शुक्रबार ९ संघसंस्थाको सञ्जालले कालिमाटी र बालाजु तरकारी बजार भाडा सम्झौताको पारदर्शितामाथि प्रश्न उठेको भन्दै सात दिनभित्र निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको हो । किसानका माग सम्बोधन गर्न वेवास्ता वा उपेक्षा गरेमा देशभरका किसान सडकमा उत्रिने सञ्जालको तयारी छ ।

सञ्जालले किसानका लागि ५० प्रतिशत कोटा छुट्याउन माग गर्दै बजार विकास समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको बताएको छ । तर, आम किसानका आवाजलाई वेवास्ता गरेको भन्दै यस निकायमाथि सुशासन, पारदर्शिता र उत्तरदायित्त्वमाथि गम्भीर प्रश्न उठेको जनाएको छ  । 

‘आम किसानका आवाजलाई वेवास्ता गरि सरकारी निकायबाटै किसानसँग सरोकार राख्ने सरकारको सम्पत्तिको प्रयोग अनुचित तवरले हुन गएको छ,’ सञ्जालका संयोजक गणेश तिमल्सिनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सरकारी निकायको सुशासन, पारदर्शिता, उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठेको छ । एक हप्ताभित्र बजार सम्झौता नसच्याए आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

सञ्जालले लम्पी स्किन महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी समन्वय नगर्दा किसानले ठूलो क्षति बेहोर्नुपरेको पनि बताएको छ । लम्पी स्किनलाई महामारी घोषणा गरेर पशुलाई उपचार र पुनःस्थापनाका कार्यक्रम ल्याउन र पीडित किसानलाई राहतको कार्यक्रम ल्याउन पनि सञ्जालले माग गरेको छ । 



यस्तै, संस्थानले बीमा कम्पनीको प्रभावकारी अनुगमन गरी बीमित किसानको रकम अबिलम्ब भुक्तानी गर्न गराउन र कृषि वीमामा देखिएका जटिलताको समाधान किसानको पक्षमा गर्न गराउन प्राधिकरणलाई आग्रह गरेको छ ।   

बाली तथा पशुधन बीमाको लागि नेपाल सरकारले ८० प्रतिशत अनुदान दिँदै कृषि बीमालाई आम किसानको बीचमा पुर्याउन प्रयास गरेको भएता पनि कृषि बीमा अत्यन्त न्यून रहेको उनीहरूको ठहर छ ।



सञ्जालले पशुधन बीमा प्रभावकारी बनाउन पनि माग गरेको छ । समयमा रासायनिक मलको व्यवस्था गर्न पनि सञ्जालले जोडदार माग गरेको छ । मलको अभाव   तत्काल अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढंगले उपलब्ध किसान खेतिपाती गर्न छाडेर मलका लागि भौतारिनु पर्ने अवस्था आउनु विडम्बना भएको सञ्जालले जनाएको छ । 

कुल गार्हस्थ उत्पादनमा ७ प्रतिशत र कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान गरेको छ । सञ्जालमा अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, नेपाल पिछडावर्ग किसान महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ, राष्ट्रिय भूमि अधिकार मञ्च र फियान नेपाल आबद्ध छन् ।

  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार १७:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया