श्रद्धाञ्जली सभामा प्रधानमन्त्रीले भने : अहिलेको समय नै आलोचना गर्ने समय हो

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले एक वर्षको मन्त्रित्वकालमा अधिकारीले असाधारण काम गरेको बताएका छन् । 

नेकपा सचिवालयद्वारा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘रवीन्द्र अधिकारीले एक वर्षको मन्त्रित्वकालमा बिर्सिनै नसकिने गुन लगाएर जानुभएको छ । उहाँले थालेका योजना र कामहरू असाधारण छन् ।’ 

बाइडबडी एयरबस खरिद प्रकरणमा व्यापक आलोचना भएको तर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाजमा आलोचना धेरै हुने गरेको बताए । दिवंगत  मन्त्रीको राम्रो कामको अनुशरण गर्न आग्रह गर्दै ओलीले अहिलेको समय नै आलोचना गर्ने समय भएकाले आलोचनाबाट नडराउन आग्रह गरे । 

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मरण गर्दै ओलीले उनी मिलनसार, काममा विश्वास गर्ने र अफ्ठ्यारो परिस्थितिमा पनि डटेर काम गर्ने नेताका रूपमा चित्रण गरे । अधिकारी ६ दशकभन्दा बढी नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर रूपमा रहेको उनले बताए । 

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकास र समृद्धिका लागि रवीन्द्र अधिकारी र भरतमाहेन अधिकारीले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने बताए । 

प्रधानमन्त्रीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकासहित भरतमोहन अधिकारीप्रति सरकार, पार्टी र व्यक्तिगत रूपमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । 
 





  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १६:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया