लुम्बिनी विकास कोषको उपाध्यक्षमा धर्म गुरुलाई नियुक्त गर्न बौद्ध मार्गीको माग

लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौद्ध धर्ममार्गीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराए । 

लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौँलाख बुद्धका शिष्यहरू हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए । 

उनले भने ‘हामी शान्तिका अग्रदूतका अनुयायी हुँदाहुँदै पनि, हामी लाखौँ लाख बुद्धका शिष्य यहाँ रहँदा पनि त्यहाँ आफ्नो पकेटका व्यक्तिहरू त्यहाँ नियुक्ति गरिरहँदा, कर्मचारी भर्ती गरिरहँदा शान्तिमय क्षेत्रलाई विवादमा तानिएको छ ।’ 

कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बुद्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको माग छ । 

लुम्बिनी विकास कोषको पदाधिकारी अथवा कर्मचारी नियुक्ति गर्दा संघ संस्थाको सल्लाह सुझावसहित नियुक्ति गरिनु पर्ने पनि मोक्तानको माग छ । हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरू नियुक्तिको खण्डमा सिंगो बौद्ध मार्गीहरूलाई लुम्बिनीमा उर्ताने उनको चेतावनी छ । 



नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासाङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्ति केन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिक दलहरू आफन्त भर्ती गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए । 

लुम्बिनी विकास कोषमा स्वच्छ मन र छवि भएका व्यक्ति नियुक्त गरिनु पर्ने उनको माग छ । लुम्बिनी विश्वले चिनेको ठाउँ भएको बताउँदै उनले उक्त संस्थाका प्रमुख व्यक्तिको चरित्र स्वच्छ र निष्पक्ष हुन आवश्यक रहेको उनको भनाइ छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि देशमा धार्मिक द्वन्द्वको सुरुवात नगराउन पनि उनले सरकारलाई चेतावनी दिए । 



  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १५:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया