सुन प्रकरणमा थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा दिइयो

सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिइएको छ । 

उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी आज सिआइबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब बाँकी सबै अनुसन्धानका काम सिआइबीले गर्नेछ । 

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर आज फाइल पठाइएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधका सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट पत्र प्राप्त भएपछि सिआइबीले अनुसन्धान थाल्ने जानकारी दिए । विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो ।

उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आज १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको हो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । 

विभागका महानिर्देशक ढुंगानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र थप अनुसन्धानका लागि  सिआइबीलाई जिम्मा दिइएको बताए । 





  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार १८:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया