नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्ने

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता भएको छ ।  

मंगलबारको भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङको ध्यानाकर्षण गराएको महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत उनले बताए । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि उनले आग्रह गरे । 

महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि उनले आग्रह गरे । यसैगरी नेपालमा चिनियाँ बैंक आउनसक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ । 

अध्यक्ष ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पहल गर्न पनि चीन सरकारसँग अध्यक्ष ढकालले आग्रह गरे । भेटका क्रममा राजदूत सोङ्ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको उनले बताए । 

नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङको भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व एवं सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गरे । 



त्यस अवसरमा राजदूत सोङ्ले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि सो अवसरमा दिए । 



  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १८:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया