जमिन भासिँदै गएपछि पहिरोको जोखिममा खानीगाउँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिरोको जोखिममा छ । पहिरोका कारण वस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर रहेका छन् । 

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार वस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि वस्ती जोखिममा परेको उनको भनाइ छ । ‘वि.सं २०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ ।’ 

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म  चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताइन् ।   

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भनिन्, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’ पहिरोको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनको भनाइ छ ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । वस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका १ सय ५ जना प्रभावित भएका छन् । रासस 
 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार ८:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया