राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद रहेकै अवस्थामा डा. ढाकाकुमार श्रेष्ठ गत चैतमा पार्टीको कारबाहीमा परे । आफू स्वास्थ्यमन्त्री बन्न लागेकाले पार्टीलाई सहयोग गरिदिन भन्दै उनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भयो । चौतर्फी आलोचनापछि डा.श्रेष्ठलाई रास्वपाले कारबाही गर्यो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ अनुसार आफ्ना सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्थाअनुसार गत २९ चैत्रमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यतादेखि सांसद पद पनि खारेज गरिदियो । उनको स्थानमा रास्वपाले बिन्दबासिनी कंसाकारलाई ल्याइसकेको छ ।
सो अडियो टेप बाहिरिएलगत्तै श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याएका थिए । उनले ‘आफू डुबे अरूलाई पनि डुबाउने’ चेतावनी पनि दिएका थिए । आफूविरुद्ध कारबाही भएपछि उनी अदालतको शरणमा पनि नगएका होइनन् । अदालतले पार्टीको कारबाहीलाई सदर गरेसँगै उनको पद गयो ।
त्यसपछि भने गुमनामजस्तै रहेका श्रेष्ठले पार्टीबाट कारबाही भोगेको चार महिना बितिसकेको छ । हाल पोखरामा रहेका श्रेष्ठसँग फरकधार संवाददाता दुर्गा ओझाले गरेको संक्षिप्त कुराकानी :
तपाईंमाथि रास्वपाले गरेको कारबाही जायज थियो ?
मैले धेरै दुःख र समस्याको सामना गरेर गण्डकी प्रदेशमा पार्टीका लागि काम गरेको थिएँ । मकै, चिउरा मात्र खाएर पार्टीको प्रचारप्रसार गरेको थिएँ । मिहिनेतअनुसार भोट पनि राम्रो आएको थियो । मैले आफ्नो पेसा, व्यवसाय सबै छाडेर पार्टीका लागि भनेर काम गरेँ । तर, त्यति गर्दागर्दै पनि अपरिपक्व तरिकाले एउटा अडियोको भरमा मलाई कारबाही गरियो ।
त्यो ‘अडियो भ्वाइस’ तपाईंको होइन भन्ने अझै दाबी गर्नुहुन्छ ?
अहिलेको जमानामा अडियो भनेको टोनिङ गरेर जसको पनि आवाज बनाउन मिल्छ । त्यतिको आधारमा मलाई ७२ घण्टामै कारबाही गर्ने भनियो । आफूलाई प्रमाणित गर्ने समय माग्दा पनि स्टण्टबाजी गरेर ममाथि कारबाही गरियो ।
पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि अहिले तपाईं के गर्दै हुनुहुन्छ ?
उक्त घटनाले मेरो जीवनमा नराम्रो धक्का पर्यो । मलाई मानसिक तनाब पनि भयो । आफैँले आफूलाई सम्हाल्नै गाह्रो भयो । म अहिले आफ्नै घरमा छु । अस्पताल जान्छु । बिरामी हेर्छु ।
पछिल्लो समय रास्वपासँग तपाईंको सम्बन्ध कस्तो छ ?
कुनै सम्बन्ध र संवाद नै छैन । मैले ‘म आफैँ कानुनको दायरामा जान्छु, भोलि सत्य ठहरियो भने मलाई कारबाही गर्नुस्, तर सत्य ठहरिएन भने मेरो जे ठाउँ छ मैले त्यो ठाउँ पाउनुपर्छ’ भनेर समय माग्दा पनि मलाई दिइएन ।
कुनै नयाँ पार्टी प्रवेश गर्नुभयो ?
म अहिले कुनै पार्टीमा छैन ।
अवसर पाए फेरि रास्वपामा फर्किनुहुन्छ ?
मैले रास्वपा र यसका सभापति रवि लामिछानेसँग कुनै संवाद गरेको छैन । उहाँहरूले पनि मसँग सम्पर्क गर्नुभएको छैन । मलाई अहिले आएर रास्वपा भनेको अपरिपक्व नेता भएको पार्टी जस्तो लाग्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।