फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा मीनेन्द्र रिजाल सहभागी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । 

आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा. रिजालले जानकारी दिए । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो ।

सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ । सोही कानुन निर्माणमा डा. रिजाल सहभागी भएका हुन् ।

सो निर्वाचनमा विभिन्न आठवटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानुन निर्माण गर्ने तयारी रहेको उनले बताए । महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैरमुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी यहाँ आएका बासिन्दासमेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उनले दिए । 

सो परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुखलगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ । सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा. रिजालले बताए । 

उनले बांसामोराका मुख्यमन्त्री अहोड बी इब्राहिम, त्यहाँका सभामुखलगायत शीर्षनेतासँग छलफल गरिरहेका छन् । पूर्वरक्षामन्त्रीसमेत रहेका डा. रिजाललाई संसद् बैठक चलिरहेका बेला मुख्यमन्त्री इब्राहिमले निर्वाचन कानुनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा डा. रिजाल सहभागी भएको जानकारी गराएपछि सभामुखले संसद् बैठक स्थगित गरी सबै सांसदहरूसँग उनको परिचय गराएका थिए । 



संविधानसभा सदस्य तथा पूर्वसांसद रिजालले नेपालले पनि फिलिपिन्सबाट पाठ सिक्नुपर्ने बताए । अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका रिजाल अध्यापनमा पनि संलग्न रही आएका छन् । अन्तर्राष्ट्रिय कानुनका जानकार उनी विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा यसैगरी परामर्शदाता एवं विषयविज्ञका रूपमा सहभागी हुँदै आएका छन् । 



  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २१:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया