बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ : पोषणविद् विनीता पन्त [अन्तर्वार्ता]

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटहरूसँग लड्न सक्छन् । 

तर, अहिले पनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का हस्पिटलमा कार्यरत पोषणविद् (डाइटेसियन) विनीता पन्तसँग गरिएको कुराकानी : 

हाम्रो शरीरका लागि पोषण किन चाहिन्छ ? 

हाम्रो शरीरका लागि पोषण एकदमै आवश्यक छ । पौष्टिक तत्त्वको प्रयोग हुने प्रक्रिया भनेकै पोषण हो । शरीरमा बन्ने विभिन्न कम्पाउन्डहरू हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ । हाम्रो शरीरमा पौष्टिक तत्त्वको उपयोग हुनुपर्ने हुन्छ । यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गछौँ। शरीरलाई शक्ति प्रदान गर्न पोषणको भूमिका हुन्छ । शरीरका विभिन्न अगंलाई सुचारु गर्न पनि पोषण चाहिन्छ । पोषण भन्ने बित्तिकै सन्तुलित खानाको राम्रो प्रबन्ध गरेको भनेर बुझिन्छ ।  

शरीरका लागि कस्तो पौष्टिक आहारको आवश्यकता पर्छ ?

हामीले सन्तुलित खानेकुरा खानुपर्छ । सन्तुलित आहार भन्ने बित्तिकै पाँच वटा खाद्य समूह भनेर बुझ्नुपर्छ । हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दूध र अण्डा समूह र चिल्लो–गुलियो समूह । यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरको लागि आवश्यकता अनुसार (उचाइ, तौल, उमेर, शारीरिक क्रियाकलाप) मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो  । यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ । सन्तुलित खानेकुराको प्रबन्ध मिलाउनुलाई नै पोषण भन्छौँ । 



शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामीहरू आउने गर्दछन् ? 

नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन । हामीकहाँ कस्तो अवस्थामा बिरामी आउनुहुन्छ भने बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि । धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ । 



आज भोलि अलिकति ट्रेन्ड बदलिएको छ, हामी कहाँ मोटोपना समस्या भएकाहरू पनि आउनुहुन्छ । उहाँहरूको आवश्यकता अनुसार उहाँको रोग के हो ? उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ । उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ ? र, उहाँलाई के आवश्यकता पर्छ भनेर हामीले खानेकुराको परामर्श गर्छौँ । जस्तै: काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतीपाती गर्नुहुन्छ, के रोग छ ? त्यो अनुसार नै चाहिने आवश्यकता अनुसार पौष्टिक तत्त्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिनहरू, खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पटाउँछौँ । 

पोषणका कारणले कस्ता कस्ता रोगहरूले आक्रमण गर्छ ? 

अहिलेको अवस्था हेर्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ । सबै मानिसहरू व्यस्त हुनुहुन्छ ।  यो सँगसँगै मोटोपनको समस्या बढ्दो छ । मोटोपनको समस्याले गर्दा ल्याउने रोगहरू जस्तै: मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलाको समस्याहरू यो चाहिँ हामी सँगसँगै आइरहेको हुन्छ । त्यसले गर्दा पनि यो जोखिम बढी रहेको देखिन्छ । सामान्यतया न्यून पोषण भएर आउने एकदमै कम हुनुहुन्छ । कुपोषण भएका बालबालिकाहरू यहाँ आउने स्थिति पनि छैन होला । यहाँ त हामीकहाँ अधिक पोषण भएर आउनेहरूको सङ्ख्या धेरै छ । बच्चाबाट नै उच्च कोलेस्ट्रोल भएकाहरू आउने गरेका छन् । यस्तै, हामी कहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरू आउनुहुन्छ । 

कस्तो खाना खानुपर्छ ? 

बालबालिकाहरूलाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ । जस्तो: जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ । बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ । घरमा पाँच वटा खाद्य समूह खान आवश्यक छ ।  अन्न भनेर भन्दा खेरी बाहिरको चाउचाउ, ब्रेड, पप होइन की घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलार्ई पकौडी बनाइदिनुहोस्, घरमै बनाइदिनुहोस्, स्वच्छ तेलमा बनाइदिनुहोस् ।

 बच्चालाई खानेकुरा चिल्लो खानै दिन नहुने, तारेको खानै दिन नहुने होइन तर, घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक रूपमा दिन सकियो भने बच्चा पक्कै पनि सु पोषित हुनसक्छ । खानेकुरा चाहिँ एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरूको खेल्ने माहौल छैन, हाम्रो शारीरिक क्रियाकलाप नै एकदमै न्यून छ । त्यसले गर्दा घरकै खानेकुरा खुवाए पनि ओभर इटिङ (धेरै खाना) छ भने त्यो पनि अर्को समस्या देखिएको छ । त्यसै गरी बच्चैदेखि आमाहरूले यति धेरै खुवाउनुहुन्छ की दिनमा चाहिने भन्दा नचाहिने पौष्टिक तत्त्व खुवाउनुभएको हुन्छ । इनर्जी, प्रोटिनहरू चाहिने भन्दा एकदमै धेरै खुवाउनुभएको हुन्छ ।  त्यस कारणले गर्दा सानै उमेरबाट मोटोपनको समस्या बढ्दै आएको छ । 

अहिले म कहाँ आइपुग्नुहुने प्रत्येक आमाहरूलाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मँदा कति तौलको थियो ? कति खुवाउनु हुन्थ्यो ? वेस्ट फ्रेडिङ खुवाउनुभएको हो वा फर्मुला मिल्क ? घरको खानेकुरा खुवाउनुभएको हो की बजारबाट किनेको ? त्यो बाटनै सुरु गरेर मैले काउन्सिलिङ गर्ने गर्छु । मोटोपनको समस्या फर्मुला मिल्क (दूध) बढी खुवाएको बालबालिकामा देखिएको छ । 

कुपोषणका कारण ख्याउटेपना, पुड्कोपनाको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ? 

पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुवामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ । त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ । त्यो सँगसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुरक्षित छन् ? कति पौष्टिक तत्त्व पुगेको छ ? त्यसलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो । 

सुरक्षित खानेकुराको पनि आवश्यक हुन्छ । आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ । समय नपुगी बच्चा जन्मिदा बच्चाको तौल, उचाइ पुगेको हुँदैन । यसले गर्दा कुपोषण निम्त्याउँछ । कुपोषण सँगसँगै विभिन्न सङ्क्रामक रोगहरू लाग्न सक्छ । र, यसले गर्दा खेरी बच्चालाई मृत्युको मुखसम्म पुर्‍याउन सक्ने सम्भावना हुन्छ । विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ । किन भने विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउनुहुन्छ । खाद्यान्नको अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।  

  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १४:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया