दैलेख– दैलेखका जनप्रतिनिधिसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दासँगै राजीनामा मागेपछि उनीहरूले प्रहरीमा उजुरी गरेका छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले दैलेखका स्थानीय सरकारका प्रमुखहरू सुरक्षाको प्रत्याभूति खोज्दै आफूकहाँ आइपुगेको पुष्टि गरे ।
जनप्रनिधिसँग पत्रमार्फत चन्दा र राजीनामा मागेका विप्लवका कार्यकर्ताले टेलिफोनमार्फत पनि दबाब दिन थालेपछि दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहलाई भेटेरै सुरक्षा दिन माग गरेका हुन् ।
‘दैलेखका जनप्रतिनिधि सुरक्षा खतरा बढ्यो भन्दै आउनुभएको थियो,’ शाहले भने, ‘आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी लागिपरेकाले विश्वस्त हुन आग्रह गरेको छु ।’ देश समृद्धितर्फ अघि बढिरहेका वेला विप्लव समूहले विस्फोट तथा व्यक्ति हत्याजस्ता आपराधिक गतिविधि बढाएको उनले बताए ।
संविधानले निषेध गरेका कार्य गर्ने राजनीतिक समूह नभएर आपराधिक समूह भएको भन्दै यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रियाका लागि कडा कदम चाल्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।