एमालेसँग गठबन्धन गरेपछि पार्टीको पतन सुरु भयो : कमल थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राप्रपा नेपाल अध्यक्ष कमल थापाले तत्कालीन निर्वाचनमा पार्टी ठूलो बनाउने महत्त्वाकाङ्क्षा एमालेसँग गठबन्धन गरेपछि पार्टीको पतन सुरु भएको टिप्पणी गरेका  छन्। काठमाडौंमा आजबाट सुरु केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गरेका थापाले २०७३ सालपछि पार्टीले बाटो बिराएको स्वीकारे । 

तत्कालीन निर्वाचनमा पार्टी ठूलो बनाउने महत्त्वाकाङ्क्षा गलत प्रवृत्तिसँग गठबन्धन गर्नु नै आफ्नो पार्टीको पतनको यात्रा सुरु भएको उनको टिप्पणी छ । २०७२ को असोजमा सरकारमा सहभागी बनेको आफ्नो पार्टीको निर्णयलाई जनताले मूल्याङ्कन गर्ने बताएका उनले भने, ‘२०७३ सालपछि भने हामीले बाटो बिरायौँ । आसन्न निर्वाचनमा पार्टी ठूलो बनाउने महत्त्वाकाङ्क्षा राख्दा हामीले गलत प्रवृत्तिसँग सम्झौता गर्‍यौ । सिद्धान्त भन्दा सत्तालाई महत्त्व दिने चरित्र सँग एकता गर्न पुग्यौँ त्यहीँबाट हाम्रो पतनको यात्रा सुरु भयो । ’

उनले तत्कालीन निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि सिद्धान्तलाई भुलेर सत्ता केन्द्रित हुन पुग्दा सत्ता र शक्तिको दलदलमा आफूहरू भासिएको निष्कर्ष सुनाए । ‘सिद्धान्तनिष्ठ राजनीतिक दलको पहिचान बनाएको राप्रपा नेपालमा सिद्धान्त र विचार पक्ष गौण हुन पुग्यो, ओझेलमा पर्‍यो । हामी सिद्धान्त होइन सत्ता केन्द्रित हुन पुग्यौ । जुनसुकै दल वा सरकारमा पनि मौका पाउने बित्तिकै गइहाल्ने पहिचान बनायौँ । पार्टीभित्र गुटबन्दी, टुटफुट र अवसरवादी चरित्र हाबी भयो । अन्ततः, पार्टी ठूलो बनाउने महत्त्वाकाङ्क्षा दलदलमा हामी नै भासियौ । गलत प्रवृत्ति र सत्ता केन्द्रित स्वार्थ समूहले पार्टी कब्जा गरे । हामी दुर्घटनामा पर्‍यौँ । पार्टीबाटै विस्थापित भयौँ ।’ बैठक भोलि सम्म चल्ने छ ।





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १७:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया