कमल थापा भन्छन्- देशलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुनुपर्छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । उनले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै पर्ने जिकिर गरेका हुन् ।

शुक्रबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तिका लागि आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

‘देशको यो संकटबाट मुक्तिको निमित्त सबैभन्दा पहिले संघीय गणतन्त्रको नाउमा खडा भएको भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्दछ । यो भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक छ । यसको विकल्पमा राप्रपा नेपालले जनसम्प्रभुता अर्थात् जनतामा निहीत सार्वभौमसत्ता, राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रस्तुत गरेका छौँ,’ थापाले भने, ‘यो विकल्पको बारेमा बहस गरौँ । आवश्यक पर्छ भने यसबारेमा छलफल गर्नका निमित्त सर्वपक्षीय सम्मेलनको आयोजना होस् । जुन सम्मेलनमा राजादेखि विप्लव माओवादीसम्मका प्रतिनिधिहरूको सहभागिता होस् ।’  

उनले पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रूपमा प्रस्तुत गरेको बताए । थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोडनु परेको समेत बताए । 

उनले निर्वाचनबाट निर्वाचित हुनेहरूले राष्ट्रलाई अभिभावकत्व दिन नसक्ने भएकाले पनि नेपालमा राजसंस्थाको विकल्प नभएको पटकपटक दोहोर्याए । 



‘हामीले यो भ्रष्ट व्यवस्थाको अन्त्य र सनातन हिन्दु अधिराज्य नेपालको माग राखेर आन्दोलन गर्दै गर्दा पनि हामी सहमति र सहकार्यको पक्षमा छौँ । सहमति र सहकार्यकै माध्यमबाट समाधान खोज्न सकिन्छ । यदि प्रमुख राजनीतिक दल र नेताहरु तयार हुने हो भने । तर अहिलेको अवस्था हेर्दा प्रमुख राजनीतिक दलहरू सर्वपक्षीय सम्मेलन गर्ने कुरा त परै जाओस्,’ थापाले भने, ‘आफू सच्चिने कुरा त परै जाओस् । सामान्य सुधार पनि गर्न तयार छैनन् । चुनावबाट उठेको व्यक्ति सबैको साझा हुन सक्दैन । त्यसले संकटबाट सम्पूर्ण नेपालीलाई भावनात्मक एकता बाँध्न सक्दैन । त्यसका लागि राजसंस्था चाहिन्छ । त्यो संस्था नेपालको सन्दर्भमा राजसंस्था मात्रै हुनसक्दछ ।’ 

थापाले ठूला दलहरू सच्चिने अवस्थामा नरहेकाले पनि आफूहरूले राजासहितको प्रजातन्त्रको लागि आन्दोलनमै जाने निर्णय लिनुपरेको बताए । 



  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १८:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया