संविधानलाई संस्थागत गर्न ढिला गर्न हुँदैन : प्रकाशमान सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानलाई संस्थागत गर्न ढिला गर्न नहुने बताएका छन् । आइतबार नेपाल महिला संघकी संस्थापक अध्यक्ष तथा आफ्नी आमा मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसमा नेता सिंहले सरकारले संविधानलाई संस्थागत गर्न लाग्नुपर्ने धारणा राखे । 

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी जुन संविधान छ, त्यसलाई संस्थागत गरेर हामीले प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित र संस्थागत गर्दै अगाडि बढाउनुपर्‍यो ।’

त्यस्तै उनले वर्तमान संसद्को मुख्य ध्यान बनाउन बाँकी सबै कानुनहरू छिटो निर्माण गर्नतर्फ हुनुपर्ने र तीनै तहको सरकारलाई काम गर्ने बाटो खोल्न सरकारले ढिला गर्न नहुने बताए । 

‘संविधानको भावना र मर्म अनुसार संघ, प्रदेश र स्थानीय तीन तहको जुन सरकार छ तिनलाई अनुसूचीमै अधिकार दिनुपर्ने व्यवस्था छ । अब कानुन बनाउन पर्यो । वर्तमान संसद्को मुख्य जोड केमा हुनुपर्‍यो भन्दा तीन तहको सरकारलाई सुचारु रूपले सञ्चालन गर्नका लागि आवश्यक संघीय कानुनहरूको अभावले जुन रूपमा गर्नुपर्ने हो त्यो गर्न पाइरहेको छैन । त्यो गराउनको लागि हामीले संघीय निजामती ऐन,शिक्षा ऐन बनाउनुपर्यो । संघीय कानुन बनाइसकेपछि मात्रै प्रदेश र स्थानीय सरकारले पनि कानुन बनाउने बाटो खुल्छ,त्यो हामीले  खुलाई दिनुपर्यो,’ सिंहले भने । 

साथै, उनले नेपाली महिलालाई अगाडि बढाउने तथा उनीहरूको सामाजिक,राजनीतिक र आर्थिक स्थितिमा सुधारका लागि मंगलादेवी सिंहले राणाकालदेखि बहुदलसम्म आइपुग्दा गरेको योगदान महत्त्वपूर्ण भएको बताए ।  सिंहले नेपाली महिलाको हक अधिकारको लागि निरन्तर लागेकी योद्धाको रूपमा आफ्नी आमालाई सम्झिए । 

उनले भने, ‘निर्दलीय व्यवस्थाको अन्त्य र बहुदलको पुनर्स्थापना र स्वतन्त्रताको लागि सबै अगाडि बढ्नुपर्छ  र व्यवस्थालाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँले नारा लिएरै २०४६ साल माघ ५,६,७ मा भएको सम्मेलनबाट माग गरेर फागुनबाट आन्दोलन सुरु भयो । त्यसपछि बहुदलीय व्यवस्था घोषणा गर्न राजा बाध्य भएको हो । ’ 



नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेतृ उनकै आमाको कारण हाल नेपालमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गर्ने, बोल्ने अधिकार पाएको दाबी उनको छ । 



  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार ११:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया