न्युयोर्कमा राष्ट्रपति भण्डारीको कथन– महिलाको अस्तित्व स्विकार्दा मुलुकमा ठूलो परिवर्तन गर्न सकिन्छ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानुनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकी छिन् । 

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३औँ अधिवेशनका अवसरमा राष्ट्रसङ्घ महासभा अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्युयोर्कस्थित महासभा कक्षमा आयोजना गरेको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय सत्रमा राष्ट्रपति भण्डारीले महिलाप्रति विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको भन्दै यसमा परिवर्तनको आवश्यकता औँल्याइन् । 

‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच सत्रमा उनले लैङ्गिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको भन्दै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने बताइन् । 

‘संवैधानिक र कानुनी प्रावधान स्पष्ट रुपमा परिवर्तन नगर्दा महिला पछि पर्छन्, नेपालमा कानुनमा सामान्य परिवर्तन गर्दा छोटो समयमा ठूलो परिवर्तन भएको छ,’ उनले आफ्नै देशको उदाहरण दिइन्। केही वर्षअघि नेपालमा एक लाख पदमा भएको निर्वाचनमा १३६ जना महिला प्रतिनिधि मात्र निर्वाचित भएकामा हालैका वर्षमा केही कानुनी प्रावधानलाई सच्याउँदा एकैपटक ४० हजार महिला निर्वाचित भएको उनको दृष्टान्त थियो । 

कार्यक्रममा आफ्ना अभिप्रेरणाका कथाका विषयमा सोधिएको एक प्रश्नमा राष्ट्रपति भण्डारीले आफू निकै दुर्गम गाउँमा जन्मेको र उक्त ठाउँमा सबैले पढ्ने, उपचार गर्ने र वर्षभरि खान पाउने अवस्था नभएको उल्लेख गर्दै सबै जनताले पढ्न, खान र उपचार गर्न पाउनुपर्छ भनेर नै आफू युवावस्थादेखि नै राजनीतिक परिवर्तनको कार्यमा लागेको बताइन् ।

आफ्ना बाबु गाउँको पढेलेखेको र माध्यमिक विद्यालयका प्रधानाध्यापक भए पनि उनको उपचार नभई निधन भएको बताउँदै राष्ट्रपति भन्डारीले त्यसैले पनि आफूलाई राजनीतिमा लाग्न प्रेरणा दिएको बताइन् ।



‘मलाई जनता, आममानिस र महिलाको सम्मान, प्रतिष्ठा र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ लाग्दैन,’ उनले थपिन् ।



  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार २१:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया