logo-img

‘नेपालका कम्युनिष्टहरू चीनको चाकडी गर्छन्’ [अन्तर्वार्ता भिडियोसहित ]
'भारतसँग नेपालले कसरी डिल गर्ने भन्ने कुरा चीनले सिकाउने होइन'
तस्बिरहरू : राजकुमार श्रेष्ठ/फरकधार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद उदयशमशेर राणा आर्थिक मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धका सम्बन्धमा विशेष दक्षता राख्छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सदस्य पनि रहेका राणाले अर्थ राज्यमन्त्रीको जिम्मेवारी पनि निभाइसकेका छन् । नेपालको पछिल्लो आर्थिक अवस्था, नेपालको चुच्चे नक्सालाई लिएर भएको विवाद, सत्तारुढ कांग्रेसभित्रको ध्रुवीकरण र राजनीतिमा नयाँ दलहरूको उदयले पुराना दललाई पारेको प्रभावका सम्बन्धमा फरकधार लागि राणासँग सन्तोष आचार्यले गरेको कुराकानी :

पछिल्लो समय मुलुकको आर्थिक अवस्थालाई लिएर सर्वत्र चिन्ता व्याप्त छ, हाम्रो अवस्थामा पनि श्रीलंका वा पाकिस्तान हुने भन्ने एक किसिमको भाष्य तयार गर्न खोजिएको छ । के नेपाल त्यति गम्भीर अवस्थामा आइसकेको हो ?

त्यस्तो गम्भीर अवस्था छैन । तर, चिन्ताजनकचाहिँ जरुर छ । हाम्रो आर्थिक इन्डिकेटर, माइक्रो इकोनोमिक्स इन्डिकेटरचाहिँ ठिकै छ । तर, माइक्रो लेभलमा गएर रियालिटी फरक छ । आजको परिस्थिति हेर्ने हो भने हाम्रा सहकारी समस्यामा छन् । कतिपय सहकारीले बदमासी गरेका छन् । कतिपय सहरकारीलाई ऋणीले पैसा तिर्ने मनस्थितिमा छैनन् ।  

बैंकसँग पैसा छ, तर ऋण लिन ठूला व्यापारीले चाहिरहेका छैनन् । किनभने उनीहरू लगानी गर्न चाहँदैनन् । साना तथा मझौला व्यापारीले ऋण पाइरहेका छैनन् । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच कोर्डिनेसन हुन नसकेको जस्तो देखिन्छ । आवश्यक नीति तय गरेर पैसा बजारमा लैजान जरुरी छ । 

दुई–तीनवटा उदाहरणले मलाई डर लागिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको एक्जिम बैंकबाट झन्डै साढे दुई प्रतिशतको सफ्ट लोनबाट त्यसलाई बनाएका छौँ । आजको दिनसम्म त्यहाँ एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन । 



भैरहवा विमानस्थलमा पनि कहिले उडान हुने कहिले उडान नहुने परिस्थिति छ । यो विमानस्थल पनि हामीले एडिबीको ऋण लिएर बनाएको हो । त्यसैले हामीले यी दुईवटा ‘सेता हात्ती’ बनाएका छौँ ।

हाम्रो सम्बन्धित मन्त्रालय र नागरिक उड्डयनले यतातिर बढी ध्यान दिएको भए यी सेता हात्ती हुँदैनथे । यसको दोषी भनेको नागरिक उड्डयन प्राधिकरण हो । हामी यही हिसाबले अगाडि बढ्यौँ भने श्रीलंकाको परिस्थितिमा पुग्छौँ । त्यसैले म सरकारलाई प्रश्न गर्न चाहन्छु, यहाँ के भइरहेको छ ? 



हामी अब के ऋ​णको पासोमा पर्दै गइरहेको हो ? 

पासोमा पर्दै गएको हो । त्यसैले सरकार यसमा सतर्क हुनुपर्छ । पूर्वाधारका लागि पैसा खर्च गर्नुपर्छ । तर, अहिले धेरै बाटो बनाउन आवश्यक छ । मेरै क्षेत्रमा बाटो बनाइदिएको भए हुन्थ्यो । हामीले बाटो बनाउन पैसा माग्दा पैसा नदिने, यो अनावश्यक खर्चको प्रष्टीकरण अर्थ मन्त्रालय र पर्यटन बोर्डले हामीलाई कहिले दिन्छ ? 

निजगढ विमानस्थलको बारेमा के भन्नुहुन्छ ?

निजगढ विमानस्थल आवश्यक छ । काठमाडौं विमानस्थल भरिएको कारणले यो आवश्यक छ । तर, अहिलेको परिस्थितिमा निजगढ जरुरी छ कि छैन भनेर एकपटक अध्ययन गर्नुपर्छ । दुईवटा सेतो हात्ती त बनाइसकेका छौँ । र, निजगढ बनाउनुअघि हामीले पोखरा र भैरहवा विमानस्थललाई अन्र्तराष्ट्रिय उडान नगरी सन्तुलनमा नल्याएसम्म र निजगढबारे आर्थिक, प्राविधिक, व्यावहारिक रूपले निगजढ आवश्यक छ वा छैन त्यसको गहन अध्ययन नगरी बनाउन मिल्दैन । 

अर्को सन्दर्भ, पछिल्लो समय चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिएन भन्ने कुरा पनि आएको छ । र, भारतले पनि त्यसलाई मान्यता नदिएको अवस्था छ । हामीले चुच्चे नक्सा ल्याउनु गलत थियो ? 

चुच्चे नक्सा ल्याउनु गलत होइन । चुच्चे नक्सा हामीले संसद्बाट पास गर्यौँ, संविधानमा पनि ल्यायौँ । हामीले नक्सा कायम पनि गर्यौँ । सबै पार्टीले समर्थन गरे । तर, दुर्भाग्यको कुरा के छ भने त्यतिबेलाको सरकारले हामीलाई भ्रममा राखेको रहेछ । 

नक्सा जारी गरेर मात्र भएन । नक्सा नेपालले जारी गर्नेबित्तिकै अन्य देशले मान्नुपर्छ भन्ने छैन । त्यसको निम्ति कूटनीतिक रुपमा हामीले लबिइङ गर्नुपर्छ ।  अहिले के विवाद निस्किएको छ भने नक्सा जारी गरेको बारेमा अन्तर्राष्ट्रिय स्तरमा जानकारी नगराइएकोे अहिलेको परराष्ट्रमन्त्रीज्यूले लेख्नुभएको छ । 

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यहाँका कूटनीतिज्ञलाई बोलाएर  ब्रिफिङ गरँे भनेर उहाँ पन्छिनुभयो । उहाँ पन्छिन पाउनुहुन्न । चीनसँग नेपालको सम्बन्ध एकदम राम्रो छ । चीनको भारतसँग पनि नक्साको विवाद छ । ज्ञवालीजीले आफैँ गएर वा एम्ब्यास्डर पठाएर, नेपालको यस्तो नक्सा छ, तिमीहरूले हामीलाई  समर्थन गर्नुपर्यो’ भनेर लबिइङ गर्नुपर्दैन ? उहाँले ठगी काम गर्नुभएको छ । 

हामीले युएनमा हाम्रो दाबी दर्ता गरेका छौँ कि छैनौँ ? अन्तर्राष्ट्रिय मान्यता त पछि पाइएला, पहिले दाबी त गर्नुपर्यो नि ! दाबी नै नगरी हामी नेपालीलाई बेकुफ बनाउने केपी ओली र प्रदीप ज्ञवालीले ? नेपाली राजदूतावास बेइजिङमा छ कि छैन के हेरेर बसेको छ । नेपालको प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्रीका साथीहरू त्यहाँ हुनुहुन्छ, कि हुनुहुन्न ? सबै अहिलेको सरकारको टाउकोमा हालिदिएर भएन नि ! देशभित्र जे पनि गर्ने, तर बाहिर गएर चुँइक्क बोल्नुपर्दैन ? 

एमसिसी लागू भएको छ । एमसिसी लागू भएपछि विभिन्न भाष्य तयार गरिए, यसका विभिन्न सकारात्मक र नकारात्मक कुरा गरिएको छ । तपाईंलाई के लाग्छ ? 

एमसिसी आवश्यक हो । यो ग्रान्ट हो । र, यो पूर्वाधारमा आएको ग्रान्ट हो । यसका केही अवस्था छन् । तर, यसले सेक्युरिटी इस्युमा छुँदैन । २०११ देखि आएर २०१७ सम्ममा यसको समझदारी भएको हो । त्यो प्रक्रिया मिलाउन हामीलाई साढे ६ वर्ष लाग्यो । यो क्रममा नेपालका सबै पार्टी र झलनाथ खनालदेखि माधव नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनिसकेका छन् । 

आफू सरकारमा हुँदा एमसिसी ‘हुन्छ’ भन्ने सरकारबाहिर हुँदा ‘हुँदैन’ भन्ने, कि पहिले नै भन्नुपथ्र्यो एमसिसी चाहिँदैन भनेर । हामीले साइन गरिसकेपछि पनि कहिले हुन्छ भन्ने कहिले हुँदैन भनेर विवाद गर्ने काम भयो । यस किसिमको परराष्ट्र नीतिले देशलाई डुबाउँछ ।

नेपाली कांग्रेस प्रस्ट छ । सन् २०११ मा डा. शंकर शर्मा अमेरिकाको राजदूत हुनुहुन्थ्यो । उहाँले एमसिसीका लागि आवेदन दिनुभएको हो । त्यो वेला दुईवटा योजनाका लागि काम भइरहेको थियो । एउटा, विद्युत् प्राधिकरणमा कुलमान घिसिङले छानेको ट्रान्समिसन र अर्को सडक विभागले छानेको बाटो हो । 

अमेरिकाले बनाउ भनेको होइन, हामीलाई चाहिएको कुरा मागेका हौँ । लगभग ४०० मेगावाट बिजुली आज पनि बर्खायाममा खेर गइरहेको छ । हामीले बिजुली उत्पादन गर्ने, तर बिजुली उपभोक्ताकहाँ लैजान ट्रान्समिसन लाइन चाहिँदैन ? जे कुराको पनि विरोध गर्ने ? यस्तो पनि कतै हुन्छ ? 

नेपालका कम्युनिष्टहरूले विगतदेखि नै राष्ट्रवादको कुरालाई विभिन्न कोणबाट जोड्ने गरेका छन् । नेपाल शक्ति राष्ट्रको प्लेग्राउण्ड भयो भन्ने कुरा पनि गर्छन् । यसमा कति सत्यता छ ? 

यो भनेको जनमतलाई अलमलाउने काम हो, हौवा हो । एक किसिमले चीनको चाकडी गर्ने काम हो । नेपालको विकासका लागि अमेरिका, चीन, भारतलगायत अन्य राष्ट्र पनि चाहिन्छन् । नेपालमा निजी कम्पनी ल्याएर लगानी गराउनुपर्छ । 

चिनियाँ राजदूतले भर्खरै दिएको वक्तव्यमा तपाईंको टिप्पणी के छ ?

चिनियाँ राजदूतले भारतसँगको हाम्रो सम्बन्धबारे केही कुरा राख्नुभयो । त्यो आवश्यक छैन । अथवा भोलिका दिनमा अमेरिकासँग हाम्रो बारेमा टिप्पणी गर्ने काम भारत र चीनको होइन । अहिले उहाँले विभिन्न किसिमले गैरकूटनीतिक भाषामा टिप्पणी गर्नुभएको छ । उहाँले हाम्रो स्वतन्त्रताको हनन गर्न खोज्नुभएको छ । 

भारतसँग नेपालले कसरी डिल गर्ने चीनले सिकाउने कुरा होइन । हामीले जापानसँग के आधारमा डिल गर्छौं, भारतले निर्देशन दिने होइन । जुन किसिमले कार्यक्रममा चिनियाँ राजदूतले बोल्नुभयो, त्यसले हाम्रो स्वतन्त्र अन्तर्राष्ट्रिय नीतिमा आक्रमण गरेको छ । 

भारतीय राजदूत, जापानी राजदूत, जर्मन राजदूतले यो कुरा बोलेको भए अहिले अखिल र युवा संगठनका साथीहरूले सडकमा आगो बालिसकेका हुन्थे । 

कस्तो विडम्वना त तिनै कम्युनिष्टहरूसँग गठबन्धन सरकार चलाइराख्नुभएको छ ! 

यो हाम्रो बाध्यता हो । कुनै पनि राजनीतिक पार्टीले एक्लै बहुमत ल्याउने सम्भावना देखिएन । त्यसैले हाम्रो केन्द्रीय कार्यसमितिको बैठकमा मलगायत अन्य धेरै साथीहरूले यो चुनावी प्रक्रिया ठिक भएन भनेर कुरा उठाएका छौँ । 

किनभने आजको दिनमा पनि प्रधानमन्त्रीज्यूलाई देखेर माया लाग्छ । सात–आठ पार्टीलाई मिलाउने काम गरिराख्नुभएको छ । यो कहिलेसम्म चलाइरहने हो ? संसदमा सबैभन्दा ठूलो पार्टी बनिसकेपछि कांग्रेसले सरकारमा जाँदैनौँ, हामी सबै जोगी बन्न तयार छौँ भन्न पनि मिलेन । 

सरकारमा जानु राजनीतिक धर्म हो । नेपाली जनताले सबैभन्दा ठूलो पार्टी हामीलाई बनाएका छन् । यही सिस्टम राख्ने हो भने आगामी २०–३० वर्षसम्म कुनै पार्टीको बहुमत आउँदैन । 

पछिल्लो समय विशेषगरी नेतृत्वको कार्यशैलीलाई लिएर कांग्रेसभित्र गुनासो सुनिन्छ । पार्टीभित्र एक किसिमको ध्रुव्रीकरण देखिन्छ । यस्तो परिस्थितिमा कांग्रेस कसरी अघि जान्छ ? 

तपाईंले ध्रुव्रीकरण भन्नुभयो, म त्यसलाई आन्तरिक प्रतिस्पर्धा भन्छु । कांग्रेस पार्टीलाई हेर्ने हो भने तपाईं स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई हेर्नुहोस् । उहाँ पार्टी सभापतिदेखि लिएर प्रधानमन्त्रीसम्म हुनुहुन्थ्यो । पार्टीका शक्तिशाली नेता कसरी बन्नुभयो भने उहाँले नेतृत्वलाई चुनौती गर्नुभयो । त्यसपछि कोइराला स्थापित भइसकेपछि उहाँका नजिकका शेरबहादुर देउवाले अरूको साथ लिएर गिरिजाप्रसादलाई नै ‘च्यालेन्ज’ गर्नुभयो । र, आज आएर शेरबहादुर देउवा, शेरबहादुर बनेको हो । कसैले देउवालाई बनाइदिएको होइन, उहाँ आफैँ बनेको मानिस हो । 

गिरिजाप्रसाद र देउवाले नेतृत्वलाई च्यालेन्ज गरेर त्यो स्थान हासिल गरिसकेपछि स्वाभाविक रूपमा देउवालाई च्यालेन्ज गर्ने व्यक्ति पनि आउँछ । त्यो रोकेर रोकिन्न । देउवा स्वयंले पनि डिस्करेज गर्नुभएको छैन । 

राष्ट्रिय मुद्दामा हामी एक ठाउँमा उभिन्छौँ । पार्टीभित्र को सभापति बन्ने भनेर च्यालेन्ज गर्छौं । भोलिका दिनमा म मात्र केन्द्रीय सदस्य बनेर हुँदैन मलाई पनि अरूले च्यालेन्ज गर्छ । यो अरू पार्टीमा छैन । अन्य पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुँदैन ।  

पछिल्लो समय नयाँ दलप्रति आमजनताको आकर्षण देखिन्छ । कांग्रेस पुरानै ढर्रामा गइरहने हो कि आफूलाई परिवर्तन गर्ने देख्नुहुन्छ ? 

पहिले हामीहरू गाउँघरतिर जाँदा कुन घरबाट कति भोट आउँछ भनेर हिसाब गर्थ्र्यौं । त्यो हिसाब मिल्थ्यो पनि । तर, आजभोलि कुनै एक घरमा कांग्रेसको झन्डा छ भने पनि त्यहाँ भएका युवा (२०–२५) वर्ष पुगेका युवायुवतीले कांग्रेसलाई भोट हाल्दैनन् । यसको कारण सामाजिक सञ्जाल हो । 

पहिलेजस्तो ‘भोट के मा, रूखमा’ भन्दै कराएर हिँड्ने समय गइसक्यो । आजभोलि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिन्छ । त्यसैले हामीले त्यो १८–३५ वर्षका युवाहरूलाई कांग्रेसमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा कुरा राखेका छौँ । दुई–तीनवटा कार्यक्रम अगाडि पनि बढाइसकेका छौँ । कांग्रेसप्रति विचलित भएकालाई फर्काउने काम कांग्रेसले सुरु गरिसकेको छ । 

भुटानी शरणार्थी प्रकरण, सुन काण्ड तथा ललिता निवास प्रकरणमा पुराना दलका नेताको पनि नाम जोडिएका छन् । यसले पनि जनतामा निराशा देखिन्छ र नयाँ दलप्रति आकर्षण । कहिले सच्चिने ?

नयाँ पार्टीका रवि लामिछाने गृहमन्त्री बनिसकेपछि उहाँको ताल पनि देखिसकेका छौँ । काठमाडौंका मेयरको ताल पनि नै देखि नै रहेका छौँ । त्यसैले नयाँ र पुराना पार्टी भनेर छुट्याउन सकिँदैन । 

हाम्रो पार्टीका पनि केही कमी–कमजोरी छन् । हामीबाट पनि कमजोरी भएका छन् । हाम्रो नेतालाई बचाउन हामी लाग्दैनौँ । तर, नेपाली कांग्रेसका नेता मात्र पनि फस्नुभएन । 

बादल गृहमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओली थिए । उहाँलाई अनुसन्धानका लागि अहिलेसम्म बोलाइएको छैन । उहाँको राजनीतिक सल्लाहकार र छोरालाई अनुसन्धानका लागि कस्टडीमा राखिएको छ । हाम्रो पार्टीका कोही दोषी छन् भने कारबाही गर । तर, अरू पार्टीका भ्रष्टाचारीलाई पुरानो सम्बन्ध देखाएर छुट दिन पाइँदैन ।  

  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया