कमल थापा भन्छन्- तेस्रो जनआन्दोलनको तयारीमा छौँ
‘चुप लाग्नुलाई हिन्दुहरूको कमजोरी नठान्नुस्’
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


उनले आफूहरूको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए । उनले देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे । उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरूको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसङ्ख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए ।

लोकतन्त्रको आवरणमा केवल केही सीमित राजनैतिक दलहरूले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्न सक्ने खतरा रहेको उल्लेख गरे । 

उनले भने, ‘हाम्रो आन्दोलन कसैलाई विस्थापित गर्नको लागि पनि होइन । वास्तवमा देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले अहिलेको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा त परै जाओस् । सामान्य सुधार गर्न पनि तयार नभएको कारणले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ । तेस्रो जनआन्दोलनको तयारी गरिरहेका छौँ। डेढ दशकदेखि राज्य सत्तामा कब्जा जमाएर बसेका भ्रष्ट शासकहरूको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसङ्ख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएका छन् ।’

अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरूलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिए । उनले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरूलाई रिझाउने नाममा बहुसङ्ख्यक हिन्दु बुद्धिस्ट र किरातीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हन्दु, बुद्धिस्ट र किरातहरू चुप लागेर नबस्ने बताए । उनले चुप लागेर बस्नुलाई हिन्दुहरूको कमजोरी नठान्न चुनौती दिए । 

उनले भने, ‘म चेतावनीका साथ भन्न चाहन्छु । यदि सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरूलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरियो भने अब नेपाली जनता चुप लागेर बस्ने छैनन् । म भ्रष्ट शासकहरूलाई अनुरोध गर्न चाहन्छु । तपाईँहरूले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसङ्ख्यकहरूलाई रिझाउने नाममा बहुसङ्ख्यक हिन्दु बुद्धिस्ट र किरातीहरूलाई कमजोर बनाउने र हेप्ने काम भयो भने अब हिन्दु, बुद्धिस्ट र किरातहरू चुप लागेर बस्दैनन् । हामीले धेरै सही सकेका छौँ । हाम्रै घरअघि धर्म परिवर्तन हुँदा पनि चुप लागेर बसेका छौँ । सहकार्य गरेर बसेका छौँ । यसलाई हिन्दुहरूको कमजोरी नठानियोस् । जिस्काउने काम कसैले नगरोस् ।’





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १९:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया