डा‍. सुनिल पोखरेललाई प्रश्न- के हो मधुमेह ? कसरी गर्ने व्यवस्थापन ?

नेपालमा मधुमेहका विरामीको संख्या बर्सेनि बढ्दोक्रममा छ । नेपालमा कुल जनसंख्याको चार प्रतिशत नागरिक मधुमेहबाट पीडित रहेको विशेषज्ञले जनाएका छन् । मधुमेहलाई समयमै नियन्त्रण गर्न सकिएन भने शरीरका महत्वपूर्ण अंगमा असर पुर्‍याउँछ ।

मधुमेहबाट आँखाको ज्योति गुम्ने, मुटु, मिर्गौला, खुट्टा, नशालगायतका अंगमा समस्या देखिन्छ ।  यसैबीच, वास्तवमा मधुमेह कस्तो रोग हो ? नेपालमा यसको स्थिति कस्तो छ ? उपचार र रोकथामका उपाय के हुन् ? लगायत प्रश्नमा केन्द्रित रहेर फरकधारकर्मी रेश्मा सिंहले मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डा. सुनिल पोखरेलसँग कुराकानी गरेकी छन्  :

मधुमेह कस्तो प्रकारको रोग हो ?   

सामान्य शब्दमा भन्दा हामीले खाएको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । जुन ग्लुकोज प्याङ्क्रियाजबाट निस्कने इन्सुलिन नामका ग्रन्थिले रसलाई कोषहरूमा पुर्‍याउने र यी कोषहरूमा ग्लुकोजको शक्तिमा परिणत भई शरीरका विभिन्न कार्यहरू सञ्चालनमा मद्दत पुर्‍याउँछन् । इन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुनाले वा प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुनाले रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ ।

मधुमेहका कति प्रकार हुन्छन् ? 

मधुमेह विशषेगरी चार प्रकारका हुन्छन् । जसमध्ये टाइप–१, टाइप–२, जिडिएम (गर्भावस्थामा देखिने), स्पेशल टाइप अफ डाइबिटिज हुन् । यीबाहेक पनि सेकेन्डरी डाइबिटिज विविध कारणले हुन सक्छ । हर्माेनको कार्यमा गडबड, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थिमा सङ्क्रमण हुँदा पनि मधुमेह हुनसक्छ । हाल नेपालमा ९० प्रतिशतदेखि ९५ प्रतिशतसम्म दोस्रो प्रकारको मुधुमेह भएको तथ्याङ्कले जनाएको छ ।



कस्ता व्यक्तिमा मधुमेह बढी हुने सम्भावना हुन्छ ? 

– आमा वा बुवामा मधुमेह भएको छ भने जेनेटिक कारण सन्तानलाई पनि हुनसक्छ,  



– कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा,

– निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा,

– गर्भवती अवस्थामा मधुमेह भएमा,

– रगतमा चिल्लोको मात्रा बढी भएमा,

उच्च रक्तचाप भएमा,

– मानसिक तनाव एवम् चिन्ता भएका व्यक्तिहरूलाई

मधुमेहले निम्त्याउनसक्ने समस्या के–के हुन सक्छन् ? 

मधुमेह भएका रोगीलाई मस्तिष्कघात, हृदयघात, अन्धोपन, स्नायुसम्बन्धी समस्या र मिर्गाैलासम्बन्धी समस्या निम्तिन सक्छ । त्यस कारण मधुमेहका बिरामीले समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । मधुमेह रोगको बारेमा शिक्षा लिने, सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने यस्तै औषधि र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवं व्यवस्थापन गर्न सकिन्छ ।

मधुमेहबाट कसरी जोगिने ? 

मधुमेहबाट बच्नका लागि रगतमा चिनी, ग्लुकोजको परिमाण ठीक मात्रामा राख्नु पर्छ । जस्तै (खाली पेटमा ७०–१२० मि.ग्राम/डे.लि र खाना खाएको २ घण्टापछि १८०.मि.ग्राम/डे.लि. भन्दा कम सकेसम्म १४० र मि. ग्राम/डे.लि.भन्दा कम राख्नु पर्छ,

– उचाइअनुसार शरीरको तौल ठीक मात्रामा राख्नुपर्छ,

 

– रक्तचाप नियन्त्रणमा राख्नुपर्छ,

– मुधुमेह भएको व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउने 

मधुमेह भएका व्यक्तिले नियमित स्वास्थ्य जाँच गर्दा मधुमेहबाट हुनसक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । जसका लागि खाली पेटमा र खाना खाएको २ घण्टापछि रगतको जाँच गर्नुपर्छ । यस्तै प्रत्येक ६ महिनामा एच.बी.ए.आई.सी. गर्नुपर्छ । मधुमेह भएको छ भने प्रत्येक वर्ष कमिर्गाैला, कलेजो, थाइराड, आँखा, मुटु र पिसाबको रुटिन जाँच गर्नुपर्ने हुन्छ ।

कस्तो खानपान अपनाउने ?  

कार्बाेहाइड्रेट- जटिल प्रकारको कार्बाेहाइड्रेटयुक्त खाद्य पदार्थ, पूरै अन्न र यसबाट बनेको परिकार, साग, तरकारी (माडयुक्त तरकारीबाहेक) ताजा फलफूल, दाल गेडागुडी ठीक परिमाणमा दैनिक खानामा समेट्नु पर्छ ।

प्रोटिन- पूर्ण प्रोटिनयुक्त, जस्तै : बोसो तथा छालारहित मासु, माछा, अण्डा, चिल्लोरहित दूध तथा दाल, गेडागुडी आदि ठीक मात्रामा प्रयोग गर्नुपर्छ  । यसका साथै रातो मासु सकेसम्म खानु हुँदैन । 

उमेर र शारीरिक क्रियाकलाप तोकिएको क्यालोरीको परिमाणअनुसार प्राप्त हुने किसिमले खानपानको व्यवस्था गर्नुपर्छ । हरेक पटकको छाक नछोडी नियमितरूपमा ठीक समयमा खान खानु पर्छ, भोकै बस्नु हुँदैन । 

मधुमेह भएका व्यक्तिले नियमित तथा पटक–पटक गरी खानुपर्छ । तर, हरेक पटकको खानाको प्रकारबाहेक परिमाणमा विशेष ध्यान दिनुपर्छ । अन्यथा बढी खानाले स्वस्थ्यमा प्रतिकूल असर पर्छ । गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जाम, जेली, चकलेट, जुस आदि कार्बाेहाइड्रेट खानेकुरा नखाँदा नै राम्रो हुन्छ । यस प्रकारको खानाले शरीरमा चिनीको मात्रा बढाउँछ ।

दैनिक खानामा हरियो सागसब्जी तथा मौसमअनुसारको फलफूल सिफारिस गरिएअनुसारको समावेश गर्नुपर्छ । मधुमेहका विरामीले फलफूलमा विशेष गरेर केरा र आँप नखानु नै उत्तम हुन्छ । खानामा रेशायुक्त खाद्य पदार्थ समावेश गर्दा सफा, शुद्ध पानी पनि प्रशस्त पिउनु पर्छ ।

बफ्याउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाएको खाना खाँदा राम्रो हुन्छ । औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सकबाट प्राप्त सिफारिसअनुसार खानाको तालिका मिलाउनुपर्छ । 

मधुमेहको नियन्त्रण एवम् व्यस्थापनमा कुनै पनि विधि जस्तै व्यायाम, औषधिको सेवन तथा इन्सुलिनको प्रयोग गरेको अवस्थामा माथि जानकारी गराएको खानासम्बन्धी कुरालाई मनन् गर्न सकेको खण्डमा एकातिर औषधिको प्रयोगमा न्यूनीकरण गर्न सकिन्छ भने अर्काेतिर मधुमेह हुने अन्य जटिल स्वास्थ्य समस्याबाट बच्न तथा त्यस समस्यालाई कम गर्न सकिन्छ ।

  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १३:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया