मन्त्री बस्नेतको घोषणा : विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछु

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सक पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे । उनले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसको लागि विशेष बजेट ल्याउने पनि बताए । 

उनले गरिव र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताए । ‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन् । मैले कसैको कुरा नसुनेर गाउँमा पठाइदिएको छु । यो इतिहासमै पहिलो पटक हो नेपालमा । दरबन्दी एक चौथाइ मात्रै छ । चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु,’ मन्त्री बस्नेतले भने, ‘पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भने पनि गर्ने हो । संविधानमा लेखिए जस्तै हामीले काम गर्नुपर्छ । अब नेपालमा उपचार गर्न नसकेर हस्पिटलको बरन्डाबाट आत्महत्या गरेर कोही पनि बिरामी मर्नु पर्दैन, घर फर्किनु पर्दैन, गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु । हामी सुधारको प्रक्रियामा लागेका छौँ ।’ 

उनले अहिंसात्मक माध्यम र तौरतरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताए । 





  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ८:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया