कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट

जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा  कास्की पहिलो बनेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो ।

प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मालागयतले पुरस्कृत गरे । त्यसैगरी स्वास्थ्य कार्यालय लमजुङ द्वितीय र स्वास्थ्य कार्यालय पर्वत तृतीय बनेका छन् ।

यसैगरी अस्पतालमा गोरखा जिल्ला अस्पताल कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुन सफल भएको छ । त्यसैगरी मध्यविन्दु अस्पताल नवलपरासी द्वितीय र धवलागिरि अस्पताल बागलुङ तृतीय भएका थिए ।  

मन्त्रालयले स्थानीय पालिकाको समेत मूल्याङ्कनमा गोरखा नगरपालिका उत्कृष्ट बन्न सफल भयो । त्यसैगरी म्याग्दीको बेनी नगरपालिका द्वितीय र लमजुङको मध्य नेपाल नगरपालिका तृतीय बनेका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गठन गरिएको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मूल्याङ्कन प्राविधिक कार्य समूहले विभिन्न मापदण्डका आधारमा उत्कृष्ट छनोट गरेको हो । 



प्राविधिक कार्य समूहअन्तर्गतको उपसमितिले विभिन्न मापदण्ड र सूचकका आधारमा उत्कृष्ट अस्पताल र स्वास्थ्य कार्यालय छनोट गरेको उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यक्रम र नतिजाका आधारमा उत्कृष्ट छनोट गरिएको हो । 

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गण्डकीमा प्रदेशस्तरीय कार्यालय छ, स्वास्थ्य कार्यालय ११, अस्पताल ११ र आयुर्वेद कार्यालय ११ गरी ३९ निकाय छन् । रासस



  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १०:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया