एकतिहाई गर्भवतीमा मधुमेह, प्रमुख कारण ढिलाे विवाह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पढाइ पूरा गर्ने तथा ‘करियर’ बनाउने चक्करमा पछिल्लो समय महिलाहरूमा ढिलो विवाह गर्ने प्रचलन बढिरहेको छ । ढिलो विवाह गर्ने प्रचलनले महिलाको स्वास्थ्यमा जोखिम बढ्दै गएको स्वास्थ्यविज्ञ बताउँछन् । 

पछिल्लो समयमा गर्भवती अवस्थामा मधुमेहको समस्या बढिरहेको छ । गर्भावस्थामा हुने मधुमेहलाई जिडिएम भनिन्छ । विभिन्न कारणमध्ये गर्भावस्थामा मधुमेह हुनुको प्रमुख कारण ढिलो विवाह पनि एक रहेको चिकित्सकको भनाइ छ । बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या भएको हुनसक्ने स्वास्थ्यविज्ञ जनाउँछन् । स्वास्थ्यविज्ञका अनुसार समयमा नै यसको उपचार नभए आमा र बच्चालाई खतरा हुन सक्छ । 

अधिकांश महिलामा सुत्केरी भइसकेपछि मधुमेह हराउने गर्छ । तर, गर्भवती भएको अवस्थामा हुने यो मधुमेहले बच्चाको स्वास्थ्यमा कस्तो असर पार्छ ? आखिर किन हुन्छ त गर्भवतीमा मधुमेहको समस्या ? यो समस्या हुँदा के गर्ने ? लगायतका विषयमा आधारित रहेर फरकधारले मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सुनील पोखरेलसँग फरकधारका लागि रेश्मा सिंहले गरेको कुराकानीको सम्पादित अंश 

कुन समयमा गर्तवतीलाई मधुमेह हुने उच्च जोखिम हुन्छ ? 

जिडिएम मधुमेह गर्भावस्थामा हुने मधुमेह हो । कोही महिलालाई गर्भवती हुनुभन्दा अगाडिदेखि नै मधुमेह छ भने त्यो स्वतः नै हुन्छ । तर, जिडिएम मधुमेह गर्भवती महिलामा २० देखि २४ हप्तामा हुनसक्ने उच्च जोखिम हुन्छ । यो २० देखि २४ हप्ताको समयमा  मधुमेहको परीक्षण गरिन्छ । यो समयमा गर्भवती महिलामा मधुमेह उच्च देखियो भने बच्चामा जटिलता पैदा हुन सक्छ । त्यसैले यस अवस्थामा पहिल्यै नै स्क्रिनिङ गर्ने गरिन्छ ।

गर्भावस्थामा भएको मधुमेहमा बच्चा डेलिभरी भइसकेपछि कतिपय महिलामा स्वतः सामान्य अवस्थामा आउँछ । तर, कसैलाई पछि गएर वा पाँच वर्षपछि पुनः मधुमेह हुन सक्छ । यस्ता महिलामा टाइप–१ वा टाइप–२ मधुमेह हुने सम्भावना बढी हुन्छ । यसको अर्थ के पनि हुन्छ भने पछि गएर तपाईंलाई मधुमेह हुनसक्छ भन्ने संकेत हो । 



कस्ता गर्भवतीलाई जिडिएम हुने जोखिम बढी हुन्छ ? 

खानपानमा ध्यान नदिने, सामान्यभन्दा बढी तौल भएका, ३० वर्ष कटेपछि गर्भवती भएका महिलालाई जिडिएम हुने सम्भावना बढी हुन्छ । 



मधुमेह भएका गर्भवती महिलाबाट जन्मिने बच्चालाई मधुमेह हुन्छ कि हुँदैन ? 

मधुमेह वंशाणुगत र वातावरणीय कारणले हुन्छ । वंशाणुगतमा आमाबुवालाई मधुमेह छ भने बच्चालाई मधुमेह हुने उच्च जोखिम हुन्छ । तर, गर्भावस्थामा भएको मधुमेह बच्चालाई मधुमेह हुने सम्भावना हुँदैन । आमाबाट पनि जिन जाने भएकाले भविष्यमा मधुमेह हुने सम्भावना भने रहन्छ । तर, आमालाई मधुमेह छ भने बच्चालाई जन्मिनेबित्तिकै मधुमेह देखिने सम्भावना हुँदैन । 

पछिल्लो समय मधुमेहका बिरामी बढ्दै जानुका कारण के हुन् ? 

पछिल्लो समय मधुेमहका बिरामी बढ्दै जानुमा वातावरणीय पक्ष कारक छ । पहिलेका मानिसले स्वस्थ खानपान, स्वस्थ जीवनशैली अपनाउँथे । पहिले–पहिले खाना सजिलै उपलब्ध हुँदैनथ्यो, त्यसैले मानिसले खेतमा काम गर्थे । यसले शारीरिक व्यायाममा टेवा पुर्याउँथ्यो । खाना पनि आफूलाई चाहिनेजति मात्र खान्थे । 

तर, अहिले खाना सहजै पाइन्छ । भान्सामा थरी–थरीका पकवान पाक्छन् । जंक फुड पनि प्रशस्त मात्रामा पाइन थाले । शारीरिक कसरत थोरै भयो । हामीले शरीरलाई चाहिनेभन्दा बढी खान थाल्यौँ । तर, शारीरिक दुःख भने गर्दैनौँ । यसले गर्दा मधुेमहका बिरामी बढ्दै गएका हुन् । 

गर्भावस्थामा मधुमेह देखिएपछि बच्चामा के–कस्ता समस्या देखिन्छन् ? 

गर्भावस्थामा मधुमेह देखियो भने बच्चा चाहिनेभन्दा ठूलो हुन्छ । बच्चाको साइज मात्र बढेको हुन्छ, तर समयक्रमअनुसार शारीरिक र मानसिक विकासमा भने बाधा पुग्छ । बच्चा चाहिनेभन्दा ठूलो हुँदा पेटभित्र बच्चा निस्सासिन्छ । बच्चाको आकार एक्कासि बढ्दा अरू अंगको विकासमा पनि बाधा पुग्छ । 

पेटमा पानीको मात्रा बढी हुँदा बच्चालाई सफोकेसन हुन्छ । बच्चाको आकार ठूला हुँदा नर्मल डेलिभरी हुने सम्भावना कम हुन्छ । त्यसैले अरूबेलाको मधुमेहभन्दा गर्भावस्थाको मधुमेहका धेरै ध्यान पुर्याउनुपर्छ । यसबेला खानपानमा एकदमै ध्यान दिने, तौलको सन्तुलन मिलाउनुपर्छ । यस अवस्थामा मधुमेह जति सन्तुलनमा राख्न सक्यो त्यति उत्तम हुन्छ । 
 
गर्भावस्थामा मधुमेह हुन नदिन के गर्नुपर्छ ?

शिक्षामा सबैको पहुँच भएसँगै मानिसले हरेक शुभ कार्यका लागि पूर्वयोजना बनाउँछन् । एक दम्पती मानसिक तथा शारीरिक रूपले बच्चा बनाउनका लागि तयार हुन्छन् भने तिनीहरूले पनि पूर्वतयारी गर्नुपर्छ । बच्चा बनाउनु पनि पूर्वतयारी एक महत्वपूर्ण भाग हो । त्यसैले यसमा पनि विशेष ध्यान दिनुपर्छ । 

गर्भवती हुनुभन्दा अगाडि महिलाले तौल कस्तो छ जाँच गर्नुपर्छ । खानपान कस्तो गरिरहेको छु, त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने ध्यान दिनुपर्छ । मधुमेह परीक्षण पनि गर्नुपर्छ । खानपान, शारीरिक व्यायाममा एकदमै ध्यान दिनुपर्छ । जिडिएम पछिल्लो समय धेरैजनामा देखिइरहेको छ । त्यसैले यसलाई एकदम ध्यान दिनुपर्छ । 

गर्भवती भएको समयमा तौल सन्तुलनमा राख्नुका साथै स्वस्थकर खानेकुरा खानुपर्छ । जंक फुड, गुलियो धेरै खानुहुँदैन । समय–समयमा चिकित्सकहाँ परीक्षणका लागि जानुका साथै शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्छ । 

नेपालमा जिडिएमको अवस्था कस्तो छ ? 

नेपालमा जिडिएमका अवस्थाको बारेमा अध्ययन भएको छैन । तर, यो धेरै जनामा देखिएको छ र यसले असर धेरै नै गर्नसक्छ । विश्वमा तीनजना गर्भवती महिलामध्ये एकजनामा जिडिएमको समस्या पाइएको तथ्यांक छ । नेपालमा यकिन तथ्यांक छैन । एक हिसाबले भन्नुपर्दा पछिल्लो समय गर्भावस्थामा हुने मधुमेहका बिरामी बढिरहेका छन् ।  

गर्भावस्थामा भएको मधुमेह निको हुन्छ कि हुँदैन ? 

धेरै महिलामा गर्भावस्थामा भएको मधुमेह निको हुन्छ भन्ने भ्रम छ । तर, गर्भावस्थामा भएको मधुमेहले भविष्यमा मधुमेह हुने खतरातिर संकेत गरेको हुन्छ । यसलाई खतराको घण्टीका रूपमा बुझ्नुपर्छ । जिडिएम छ, डेलिभरीपश्चात् निको हुन्छ भनेर ढुक्क भएर बस्नुहुँदैन । मलाई जिडिएम भएको थियो, मैले खानपान तथा शारीरिक व्यायाममा ध्यान दिनुपर्छ भन्ने कुराको एकदमै विचार गर्नुपर्छ । 

  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार १६:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया