अर्थतन्त्र गम्भीर संकटमा पुग्यो, सरकार गम्भीर बन्न सकेन : पूर्वअर्थमन्त्री पौडेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् ।  

उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए । उनले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताए ।  

पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताए । 

रुपन्देही उद्योग सङ्घको ४५औँ साधारण सभा तथा २३औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताए । 

उनले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताए । उनले भने, ‘सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ ।’

मुलुकको आर्थिक सङ्कटका कारण पुँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उहाँको भनाइ थियो । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उनले बताए । उनले भने, ‘उद्योगहरूमा उत्पादन घटेको छ, माग, आपूर्ति पनि घटेको छ ।’



उनले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए ।  



  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १७:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया