बहत्तर वर्षमा नागरिकता पाउँदा खुसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् । मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले  आज  जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । 

साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुसी व्यक्त गरे । 

लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने, ‘ढिलै भए पनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।’

अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।  आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 

पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडसमेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ ।

अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताउनुभयो । ३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार २१:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया