तेहरानको जेलबाट नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीको सन्देश : विजय सजिलो छैन, तर यो निश्चित छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानस्थित आफ्नो जेलको कोठाबाट गोप्य रूपमा आफन्तमार्फत विश्वसामु पठाएको सन्देशमा विजय कठिन तर निश्चित रहेको बताएकी छन् । 

मंगलबार प्रकाशित भएको उनको सन्देशमा भनिएको छ–विजय सजिलो छैन, तर यो निश्चित छ ।

उनकी छोरी कियाना रहमानीले फ्रान्सेली भाषामा पढेर सुनाएको र नोबेल पुरस्कार समितिको आधिकारिक वेबसाइटमा पोस्ट गरिएको सन्देशमा ५१ वर्षीया सामाजिक अभियन्ता तथा पत्रकार मोहम्मदीले नर्वेली नोबेल समितिप्रति ‘हार्दिक कृतज्ञता’ व्यक्त गरेकी छिन् । 

‘इरानमा महिलामाथि भइरहेको उत्पीडनविरुद्ध लडेको’ भन्दै उक्त पुरस्कारका लागि छानिएकी मोहम्मदीले इरानमा महिलाले हिजाब लगाउनुपर्ने प्रावधानको फेरि एकपटक आलोचना गर्दै सन्देशमा इरानी अधिकारीको निन्दा गरेकी छन् । उनले आफ्नो परिवारसहित फ्रान्समा शरण लिएकी १७ वर्षीया छोरीमार्फत सो सन्देश सम्प्रेषण गरेकी हुन् । 

उनले भनेकी छन्, ‘अनिवार्य हिजाब समाजमाथि थोपरिएको नियन्त्रण र दमनको साधन हो र यसमा यो इस्लामिक अधिनायकवादी धार्मिक शासनको निरन्तरता र अस्तित्व निर्भर गर्दछ ।’

४५ वर्षदेखि इरानी समाजमा अभाव र गरिबीलाई संस्थागत गर्ने शासनको निन्दा गर्दै उनले ‘यो झूट, छल, धूर्तता र धम्कीमा आधारित’ भएको बताएकी छन् । 



दर्जनौँपटक पक्राउ परी पाँचपटकसम्म जेल सजाय पाएकी र सन् २०२१ देखि पुनः इरानी जेलमा परेकी मोहम्मदी इरानमा ‘महिलाहरूको स्वतन्त्र जिउन पाउनुपर्ने’ विद्रोहको नेतृत्व गर्ने साहसी केही इरानी महिलामध्ये एक हुन् । 



  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार २२:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया